✍️ हरिभक्त सिग्देल ‘महेश’
काठमाडौं,
चैत ५ ।
रचनामा मिठा राम्रा त्यस्तै मिठा मिठा स्वर
वाद्यवादन बेजोड साझा बन्ने तिनै स्वर ।
जादूमय चिन्तनाले त्यस्तै गीत रची उता
उस्तै गायकका मिठा स्वर घन्की जतातता।।
ढल्पल्ढल मान्छेका मन नै हल्लिने कति
शब्द उस्तै अहा१भन्न मन लाग्ने भए जति ।
आकाश अनि पाताल उत्तर अनि दक्षिण
मन्त्रमुग्ध सबै देख्छु देख्छु दिशा म पश्चिम ।।
स्वर सङ्गीत गुञ्जिन्छन् आकाश हुन्छ कम्प यो
हाँस्छन् रुन्छन् सबै मान्छे अचम्म हुन्छ जीवको ।
चोटिला अझ पोटिला शब्दमा स्वर गुञ्जन
प्रस्तुतिमा अझै जादू मिलेझैँ भोक ब्यञ्जन ।।
मुटुलाई छुने चट्ट घरभित्र पसे पनि
झसङ्ग झस्कने सारै टाढा कतै बसे पनि।
मलाई नै भनेजस्तो मेरै हो गीतझैँ हुने
जस्तो भान सबैलाई लागेरै मनमा छुने।।
सृजना यो बनोस् मिठो श्रोता पाठक लक्षित
पढ्न गाउनमा उस्तै भित्रकै बनी अमृत ।
यी प्रतिनिधि हुन् सारा लठ्ठिदै झुम्मिने सब
आनन्द र मजा त्यस्तो त्यसमै हुन्छ गौरव ।।
चराजीव सबै साथ प्राणी यी जगतैभरि
लठ्ठमा झुम्न यी थालुन् सुनेर शब्द मञ्जरी ।
बसुन् सरस्वती सिद्धि दिउन् नित्य गणेशले
सृजना रस हुन् साँच्चै पिऊँझैँ मनचाहले ।।
सुनेर तृप्त हुन् कान दुःख पीडा हटाउने
आनन्द सुखको भान भित्र भित्रै गराउने ।
सृजना यी बनुन् यस्तै विश्व सृष्टि र प्राणका
गाउँदा अनि सुन्दैमा हुन् आयुबृध्दिका ढिका ।।






