दशौं संस्करणको म्युजिकखबर अवार्डमा थापालाई दीर्घ साधना सम्मान प्रदान गरिने

काठमाडौं,
फागुन २८ ।

दशौं संस्करणको म्युजिकखबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । म्युजिक खबर म्युजिक अवार्डमा गीत सङ्गीतका विभिन्न ४० विधाका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको थियो । शनिबार काठमाडौंको हात्तिसारस्थित नेपाल हाउसको सभाहलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङ्देनले म्युजिक खबरको दश वर्षे यात्राले कलासंस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताउँदै राजनीतिले देशको नीति बनाइरहँदा कलाक्षेत्रलाई एकै ठाउँमा जोड्दै आर्थिक समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्न म्युजिक खबर अगाडि बढेकोमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै अवार्डका अध्यक्ष सुमन बैरागीले दश वर्षे यात्रामा भोगिएको आरोह अवरोह विर्संदै कलाकारको सम्मान र प्रोत्साहनमा समर्पित गर्ने अवसर मिलेकोमा म्युजिक खबर परिवारले गर्व महसुस गरेको बताउनुभएको थियो । उहाँले अवार्ड कार्यक्रमलाई कसरी हुन्छ निष्पक्ष र सम्मानयोग्य बनाउन क्रियाशील रहेको बताउँदै अवार्डको गरिमालाई सदैव कायम राख्दै अगाडि बढ्न म्युजिक खबर कलाकारसँग हातेमालो गरिरहने बताउनु्भयो ।

अवार्ड कार्यक्रममा गायक शिव परियार, युवराज चौलागाईं, प्रकाश तिमिल्सिना, सरोज कोइराला, मौसम गुरुङ, रञ्जित परियार, बालकुमार श्रेष्ठ, बादल घिमिरे, ईश्वर सिंह, गायिका कालिका रोका, अन्जु श्रेष्ठ, ऋतु कँडेल, सङ्गीतकार दिपकराज विश्वकर्मा, अनिर मास्के, योगेशकाजी शाह, चिरञ्जीवी भण्डारी, मोडल समिक्षा क्षेत्री, जीबी चिरन, रमेश थापा, निक्स शर्मा, अनु पराजुली, रविना भण्डारी लगायतका दर्जनौं स्रष्टा, कलाकार, प्राविधिकहरूको उपस्थिति थियो ।

अवार्डका निर्देशक मिलन मोक्तानको सभापतित्वमा भएको कार्यक्रममा गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, महासचिव शिव राई, सङ्गीत उद्योग संघ नेपालका अध्यक्ष सूर्य मगर, तमु कलाकार संघका अध्यक्ष शर्मिला गुरुङ, राष्ट्रिय सङ्गीतकर्मी संघका अध्यक्ष विक्रमजंग शाह, महासचिव अमृत खाती, गोरखा सांस्कृतिक समाजका महासचिव रविन लामिछाने, कार्यक्रमका सल्लाहकार राधेश्याम लेकाली, वरिष्ठ गायक प्रेमराजा महत, सङ्गीतकार गणेश पराजुली, सन्तोष श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थिति थियो । कार्यक्रमलाई सरोज कोइरालाले सञ्चालन गर्नुभएको थियो भने गायिका मन्जु पौडेलले गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा साहित्य, कलासँग जोडिएका सञ्चारकर्मी, साहित्यकार, कलाकारलाई पनि सम्मान गरिएको थियो । म्युजिकखबर साहित्य सम्मानबाट साहित्यकार मालिका केशरी, म्युजिक खबर कला सम्मानबाट चित्रकार सुमिना श्रेष्ठ, म्युजिक खबर विशेष पत्रकारिता सम्मान नेमिष गौतम र राजु बोहरा, म्युजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार एलिना खनाल, अरविन्द्र गौतम र प्रकाश बराइलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको फाइनल कार्यक्रममा सम्मान गरिने विभिन्न स्रष्टाहरुको पनि नाम घोषणा गरिएको थियो । म्युजिक खबर दीर्घ साधना सम्मानबाट अग्रज गायिका तीर्थकुमारी थापालाई सम्मान गरिने भएको छ भने दशकको सम्मानबाट गायक भोजराज काफ्ले र गायिका निशा देशारलाई सम्मान गरिने भएको छ । त्यस्तै म्युजिक खबर युवा प्रतिभा पुरस्कारबाट गायिका मनिषा पोखरेललाई सम्मान गरिने भएको छ भने म्युजिक खबर डायस्पोरा सङ्गीत सम्मानबाट वरिष्ठ गायक प्रेमराजा महतलाई सम्मान गरिने भएको छ । म्युजिक खबर सङ्गीत सम्मानबाट गीतकारद्वय राम अबिरल र रामचन्द्र ढकाललाई सम्मान गरिने भएको छ भने म्युजिक खबर बालप्रतिभा सम्मानबाट गायिका आयुषा गौतमलाई सम्मान गरिने भएको छ । त्यस्तै म्युजिक खबर पत्रकारिता सम्मानबाट पत्रकार सानुकाजी श्रेष्ठ र चन्द्रमणी गौतमलाई सम्मान गरिन लागिएको जानकारी गराइएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार