काठमाडौं,
फागुन २१ ।
नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम् सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ‘डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी’ भन्ने नाराका साथ शुक्रबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो ।
नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम माझ विभिन्न विधा अन्तर्गत महिला उद्यमीहरूलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल विमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्यतर्फ स्वरुपा श्रेष्ठ रहनुभएको छ ।
त्यसैगरी सांस्कृतिक कार्यक्रम अन्तर्गत शुसिला आर्टस् एकेडेमीका कलाकारहरूले रिदम र सोल थिममा आधारित रही साङ्गीतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले नेपाल सामाजिक संरचनामा विविधतापूर्ण रहेको उल्लेख गर्नुहुँदै महिलाहरू हिंसामा प्रभावित भएको घटना बढदै गएको जानकारी दिनुभयो । उहाँले महिलाहरू जूगौदेखि उत्पिडनमा पर्दै आएकोमा आधुनिक विश्वमा अगाडि बढन सहज देखिएता पनि घर परिवारकै साथ नपाउदा महिलाहरूलाई हरेक जसो क्षेत्रमा अगाडि बढन कठिन र चुनौतीपूर्ण हुने गरेको बताउनुभयो । राजनीतिक दलका नेताहरू जिम्मेवार नहुँदा राजनीतिकर्मी महिलाहरू समेत अवसरबाट बञ्चित हुनुपरेकोमा रोष प्रकट गर्नुहुँदै संविधान बनाउनेले नै कानुन उल्लंघन गरेको उहाँले जिकिर गर्नुभयो ।
साथै, उहाँले महिला आयोग महिलाहरूलाई हर क्षेत्रमा अगाडि बढाउन सकृय रहेको उल्लेख गर्नुहुँदै महिलाको आर्थिक सशक्तिकरणका निम्ती प्रभावकारी रुपमा अघि बढेको नेपाल महिला चेम्बरसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिलाहरू पछाडी पारिएको जिकिर गर्नुहुँदै उनीहरुलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो ।
अग्रवालले पुरुषका तुलनामा महिलाहरूले कम ज्याला दिने गरिएको उल्लेखसहित यस्ता किसिमको विभेदको अन्त्य गर्नुपर्ने राय पेश गर्नुहुँदै डिजीटल प्रविधिमा महिलाहरूलाई अगाडि ल्याई समय सापेक्ष रुपमा प्रतिस्पर्धात्मक बनाउन आवश्यक रहेको औल्याउनुभयो ।
साथै, उहाँले महिला चेम्बरले बर्षभरी नै महत्वपूर्ण कार्यक्रमहरूको आयोजना गर्दै आएको उल्लेख गर्दै महिला सशक्तिकरणको क्षेत्रमा संस्थाले पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो ।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक बर्ष हुने यस्ता कार्यक्रमले महिलाहरूलाई अघि बढन हौसला मिल्ने बताउनुहुँदै विश्वभरमा अधिकाँश महिलाहरू विभिन्न प्रकारका विभेद र उत्पिडनमा पिल्सिरहन वाध्य रहेको उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले महिलाहरूलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागीता एवम् प्रतिनिधित्व अर्थपूर्ण हुने बताउनुभयो । महिलाहरू अझै पनि हिँसामा पर्नेगरेको घटनाको स्मरण गर्नुहुँदै उहाँले महिला सशक्तिकरणका निम्ती आर्थिक रुपमा स्वाबलम्बी बन्नुपर्नेमा जोडसमेत दिनुभयो । अध्यक्ष श्रेष्ठले महिलाहरूबाट सञ्चालित कतिपय उद्योग व्यवसाय कोभिड पस्चात धरासायी हुँदा पलायन हुने अवस्था रहेको उल्लेख गर्नुहुँदै महिलाहरूलाई लक्षित गरि क्षमता अभिब्रिद्धीका कार्यक्रम, सहुलियतपूर्ण कर्जा, कर छुटको व्यवस्था गर्न राज्य समक्ष आग्रह समेत गर्नुभयो । साथै उहाँले आर्थिक बिकासका लाीग् उद्योग र रोजगारीको क्षेत्रमा महिलाहरूलाई प्राथमिकता दिनुपर्ने रायसमेत पेश गर्नुभयो ।
नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले धन्यवाद ज्ञापन गर्नुहुँदै देशको अर्थतन्त्र खस्केको चित्रणसहित उत्पादनशिल क्षेत्रमा लगानी बिस्तार गर्नुको विकल्प नरहेको बताउनुभयो । अधिकारीले कृषि वस्तुको आयातमा रोक लगाई उत्पादनशिल क्षेत्रलाई बढवा दिनुपर्नेमा जोड दिदै कुल गार्हस्थ उत्पादनमा योगदान पुर्याउन सबैको योगदानको खांचो रहेको औल्याउनु भयो । साथै उहाँले महिलाहरूलाई अवसर दिनुपर्नेमा जोड दिदै महिला चेम्बरले महिलाहरुको सर्वाङगिण हितका निम्ती कार्य गर्दै आएको बताउनुभयो ।






