काठमाडौं,
माघ १६ ।
देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज (सोमबार) विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने चलन रहेको हो । जहानियाँ राणा शासन विरुद्ध विद्रोह गर्ने चार जना शहीदले शाहदत प्राप्त गरेको समय माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको हो ।
शुक्रराज शास्त्रीलाई वि.स. १९९७ माघ १० गते टेकुस्थित पचलीमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते झुण्ड्याएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानी मारिएको थियो । यिनै महान् सपुतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउने गरिएको हो । त्यसपछि विभिन्न कालखण्डमा भएका आन्दोलन तथा सशस्त्र द्वन्दमा मारिएकाहरूलाई पनि शहीद घोषणा गरिएको छ ।
विसं। २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र र स्वतन्त्रताको माग राख्नुभएका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । शहीद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म शहीद सप्ताह मनाउने गरिएको छ ।






