प्रमोसन अभियानमा ‘फूलबारी’

काठमाडौं,
माघ १५ ।

चलचित्र ‘फूलबारी’ले पाँच शहरमा प्रमोसन अभियान सुरु गरेको छ । आगामी फागुन ५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम शुरु गरेको हो ।

चलचित्र प्रमोसन कार्यक्रमको आयोजक तथा व्यस्थापक पीभीइ नेटवर्कका अनुसार गत शुक्रबारदेखि बुटवलबाट सुरु प्रमोसन माघ २१ गतेसम्म चल्नेछ । यो समयावधिमा चलचित्र युनिट पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछन् । टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, सङ्गीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत हुनुहुन्छ ।

गत शुक्रबार फिल्म युनिटले बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजोन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा चलचित्रको प्रमोसन गरेको थियो । कलाकारलाई कलेजका विद्यार्थीलाई चलचित्रका गीतका तथा गायक कालीप्रसाद बासकोटाले गाएको चलचित्रको गीत ‘माया रहेछ र’ गाएर स्वागत गरेका थिए ।

बुटवलकै गोलपार्कमा चलचित्रकै थिममा आधारित रहेर तयार पारिएको स्टेजबाट कलाकारले दर्शकसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रमको सुरुवातमा कालीले ‘पारी त्यो डाँडा’, ‘जैले रिसाउने’ र चलचित्रको गीत ‘माया रहेछ र’ सुनाउनुभएको थियो ।

कलेज र सार्वजनिक स्थानमा कार्यक्रमको कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थित थियो । मिट एण्ड ग्रिट चाहिँ द कन्सेप्ट बारमा गरिएको थियो । लामो समयपछि यो बार दर्शकले भरिएको थियो । चलचित्र युनिटले आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ ।

चलचित्रका निर्माता मनीष ढकालका अनुसार निश्चित सहरको उच्च जनसङ्ख्याका आधारमा कलेज गन्तव्य चयन गरिनेछ । ‘नेपाली चलचित्रको इतिहासमा पहिलोपटक ठूलो सङ्ख्यामा कलाकारलाई प्रचारप्रसार अभियानमा सहभागी गराउँदै प्रमोसनलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्नेछौं । चलचित्रले पब्लिक इभेन्ट अन्तर्गत मुख्य बजारको सडक छेउमा दैनिक रुपमा मानिसहरूको भीड हुने स्थानमा कार्यक्रम गरिनेछ’, निर्माता ढकाले भन्नुभयो, ‘त्यहाँ स्टेज निर्माण गरी चलचित्रसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिनेछ । यो कार्यक्रममा क्षेत्रीय प्रवद्र्धक र विभिन्न सरोकारवाला निकायको सहभागिता हुनेछ । सार्वजनिक कार्यक्रमको सुरुवात सोलो एकस्टिकबाट गरिनेछ । त्यसपछि चलचित्रका कलाकारको स्वागत, फोटो सेसन र जीवन तथा चलचित्रसँग सम्बन्धित प्रेरक कुराकानी हुनेछन् ।’

व्यवस्थापक पीभीइले दैनिक जीवनमा देखिरहेका कार्यक्रमभन्दा मिट एण्ड ग्रिटमा ‘फूलबारी’ टिम फरक रुपमा प्रस्तुत भई नेपाली चलचित्र उद्योगका लागि नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ । यसमा कलाकारले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।

रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ । चलचित्रले कसरी पुस्ता अन्तरले परिवारका सदस्यबीच समस्या सिर्जना गर्छ भन्ने देखाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार