वर्तमान सरकारसँगका अपेक्षा

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
पुस २१ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको भाग्य चम्कने खालका योजना र कार्यक्रम बनाएर एक्सनमा उत्रनुपर्ने आबश्यकता देखिएको छ । मुलुक बनाउन इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ । त्यो प्रधानमन्त्री पुष्पकमल दाहालमा केही देखिन्छ । कुनै लोभ लालच आफूले पनि नराख्ने र अरुलाई पनि त्यस्तो दोभी पापी हुन नदिने काममा प्रधानमन्त्री दाहाल लाग्नुभयो भने देशमा आशाका किरण छाउन सक्थ्यो । आज देशका सामु धेरै समस्या र चुनौती त छदैछन् । यी समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर भएर लाग्नुपर्छ । जनसरोकारका सबै काम द्रुत गतिमा अघि बढाउनुपर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै पक्षले मुलुकको विकास, सुशासन र समृद्धिमा ध्यान दिनुपर्ने भएको छ ।

अब पनि मुलुक प्रति खेलवाड गर्ने छुट कसैलाई छैन । देश बनाउने हो भने सबैभन्दा पहिला राजनीतिक नेतृत्व नैतिकतवान् र इमानदार बन्न सक्नुपर्छ । राजनीतिक नेतृत्व इमानदार बन्दा बित्तिकै आम प्रशासन तन्त्रमा सुधार आउनसक्छ । सरकारका योजनालाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउने भनेकै कर्मचारीवर्ग हो । राजनीतिक नेतृत्व इमान्दार बन्नैपर्छ । देश भ्रष्टचारमा डुबेको छ । कर्मचारीतन्त्रलाई भ्रष्ट बनाएकै राजनीतिक नेतृत्वले हो । त्यसैले सबै भन्दा पहिला राजनीतिक नेतृत्व आफैँ सच्चिनुपर्छ । त्यसैले अब प्रधानमन्त्री पुष्पकमल दाहालको पहिलो प्राथमिकता आफू सच्चिएर कर्मचारीमा सुधार ल्याउनु हो । अधिकांश नेताहरू माफिया, बिचौलिया र तस्करको घेराबन्दीमा छन् ।

कसरी हुन्छ धन आर्जन गर्ने ध्याउन्नमा उनीहरू लिप्त छन् । देशमा भ्रष्टाचार अत्याधिक रूपमा बढिरहेको छ । त्यसैले सबै दलका शीर्ष नेता आमूल रूपमा सच्चिन जरुरी छ । अब सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमा उतार्नैपर्ने देखिन्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवैमा इमानदारीता भयो भने देश बन्न कुनै बेर लाग्दैन । सरकारले आफ्नो कार्यकालको अवधिमा गर्न सक्ने तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्छ । त्यसका लागि विषयगत विज्ञ छनोटमा विशेष ध्यान दिनुपर्छ । त्यसो भयो भने मात्र बर्तमान सरकारले गर्न खोजेका कुरा र सपना पुरा हुन सक्छन । जनताका गास, बास, कपासको उचित व्यवस्थापनमा सरकार लाग्नुपर्छ । त्यसैगरी सरकारले स्वास्थ र शिक्षामा सहज पहुँच एवम् रोजगारीको उचित अवसरको व्यवस्थापन गर्न सक्नुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार