आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडौं,
पुस १६ ।

आज पुस १६ को अवसरमा नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप तथा एकता दिवस’ मनाउँदैछ । कांग्रेसका संस्थापक नेता वीपी कोइराला आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते मेलमिलापको नीतिसहित स्वदेश फर्किएको सम्झनामा कांग्रेसले यो दिवस मनाउँदै आएको छ ।

२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरू आठ वर्षे निर्वासित जीवन बिताएर यसै दिन स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरू वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किनु भएको थियो ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई सात बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो । तर, मेलमिलापको नीति बोकेर नेपाल आउनुभएका वीपीसहितका कांग्रेस नेतालाई तात्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।

कोइरालाले भारतबाट राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएको त्यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । कांग्रेस र यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले आज (शनिबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् । सुन्दरीजलस्थित वीपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार