काठमाडौं,
पुस १० ।
नेपालको ४४ औं प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुभएको थियो ।
दाहालले सोमबार प्रधानमन्त्रीका रुपमा शपथ लिनुहुने छ । राष्ट्रपति कार्यालयका अनुसार आइतबार समय अपुगका भएका कारण दाहालको शपथ सोमबार दिउँसो ४ बजे हुने छ ।
दाहाल यसअघि २०६५ र २०७३ मा नौ/नौ महिनाको अवधि प्रधानमन्त्री बन्नु भएको थियो ।







