✍️पुष्प शर्मा
सिङ्ताम, सिक्किम
पुस ८ ।
अचम्भको शीर्षक सुनेँ ‘खिलबुट्टा’। खिलको पनि बुट्टा ! सिँगार्न बुट्टा लगाइन्छ । पाकेको पिलोको आँखो, टपरी आदि गाँस्ने सिन्का, बिझेका काँडा आदि ननिस्केर भित्रै सडेर जमेको मासु, मौरी बाजुला अरिङ्गाल आदिले टोक्दा गडेको तुस । पीडामय हुन्छ खिल । भारतमा गोर्खा जातिको पीडामय अवस्था खिलजस्तै भए पनि हाँसिरहने नाचिरहने बानी परेको कुरा कविले वर्णन गर्नुभएको बुझेँ । दुःख भुलाउने अस्थायी साधनमा मक्ख पर्नु खिलका बुट्टा । दुःखमा पनि हाँसिखुशी रहनेहरूको अभिव्यक्ति खिलबुट्टा ।
नामै सुनेर खिलबुट्टाको विमोचनमा पुगेँ । विराट्-विराट् साहित्यकारहरू देख्न र भेट्न पाएँ । मेरा गुरुका पनि गुरु दलसिंह अकेला, महान् कवि राजेन्द्र भण्डारी, नामी अभिनेत्री मेनुका प्रधान, विराट् कवि मोहन ठकुरी, प्रसिद्ध कवि लेखक कालुसिंह रनपहेँली, सानैदेखि सुनेरै चिनेको गीतकार पूरण गिरी र अरूअरू ठूल्ठूला साहित्यकार भेट्नसकेँ । भेट गराइदिनुहुने चिनाइदिनुहुने प्रसिद्ध र प्यारा कवि केवल । ठूला भएर पनि प्यारा र राम्रा हुनसकेका साहित्यकारहरू भेट्नपाउनु मेरो सौभाग्य भयो । कवि आफैँले खिलबुट्टा दिनुभयो। आफूले पुरस्कार पाएजस्तै ठानेँ ।

कविता सरसर्ती पढ्नु र पढेर ग्रहण गर्नुमा निकै भिन्नता रहेछ । पढेर ग्रहण गर्ने विचारमा मैले यसलाई दोहोऱ्याई–तेहऱ्याई पढ्ने प्रयास गरेँ । पुस्तकभित्र लामा छोटा, विभिन्न प्रकारका मिश्रित ४३ वटा कविता सङ्कलित छन् ।
कविताको महत्वपूर्ण पक्ष लय हो । लयले कवितालाई श्रुति मधुर बनाउँदछ । उहाँको कविता सुन्दर लयमा उनिएका छन् । गद्य कविताको आफ्नै विलक्षण लय हुँदछ।
यस सङ्ग्रहका रचनामा प्रयुक्त कलापक्ष नै आकर्षक लाग्यो । वास्तवमा भन्ने हो भने साहित्य लेखनको मूल मेरूदण्ड नै कला हो । शिल्पको सौन्दर्यले टल्किन्छन् साहित्य । प्रस्तुति, बुनौट, बिम्ब, प्रतीक, उपमा, उपमेय आदिको सुमधुर प्रयोगले कविता उज्यालिन्छन् । कलापक्षमा हेर्ने हो सङ्ग्रहका अधिकांश कविता कलामय भएका छन् बट्टैबुट्टा कुँदिएका । कवितासङ्ग्रहभित्रको पहिलो कविता नै यो कुराको प्रमाण हो । म कविताभित्रको भाव देखेर स्तब्ध भएँ । कविता साहित्यको सार हो । यो मैले कविता पढ्दा अनुभूत गरेकी कुरा हो ।
नेपाली कवितामा आफ्नै शैलीका कारण पृथक परिचय बनाएका सर्जक हुन् कवि केवल । कविता शिल्प र शैलीले सिँगारिनु मात्र नभई भाव र विचारले पनि उत्तम बनेको अनुभूत गरेँ । कविले म आफैँलाई हेरेर लेखे कि जस्तो लाग्ने रचनाले मजस्ता धेरैलाई छुने कुरा लेखेका रहेछन् । जाति र जनलाई बोध गरिएका रचनालाई सार्वजनिन र सार्वभौम मान्नसकिन्छ । जाति छ, जाति विशेष छ तर सम्पूर्ण मानव जाति पनि कवितामा छ ।
कल्पना र यथार्थको छेवै रहेर प्रखर अभिव्यक्ति पोखिएका रहेछन् । कविका कविता पनि यथार्थकै धरातलमा उभिएका भए पनि कला र कल्पनाले चामत्कारिक र लोकोत्तरीय आनन्द दिने बनेका लाग्यो । यथार्थबाट चिप्लिएर कवि कतैकतै अति भावुकतातिर गएका हुन् कि भन्ने आशंका बोध गरेँ ।
कविताभित्र यति फराकिलो आकाश छ जहाँ पाठक जता उडेर गए पनि हुन्छ । जे चाहे त्यही पाउँछ । यहाँ भावनाको आकाश र विचारको सागर छ ।
कवि केवलका कवितामध्ये मैले पहिलो कविता वर्ष २०२०-को लकडाउनमा ‘सिस्नुको झ्याङ’ पढेकी हुँ । पहिले जुन कविताको विषय होइन भन्ने ठानिन्थ्यो त्यही विषयलाई कविता बनाइदिने कवि कस्ता होलान् भन्ने लागिरह्यो । छुच्चो बाबु र पुरानै आदर्श मान्ने आमाकी छोरी सिस्नु आधुनिक र नवीन हुन नपाएको तर पछि काँडा झारेर फूलजस्तै सुन्दरी हुन चाहेको घटनाले नारी मुक्ति र सशक्तीकरणको बलियो कविता मानेँ । पढिसकेर कवि केवलचन्द्र लामाज्यूको नम्बर खोजेर फोन गर्ने आँट गरेँ । त्यस्ता नाम कमाएका ठूला कवि तर कति विनम्र ! उहाँका प्रेरणा र आशीर्वाद पाएर त्यस बेला पुलकित बनेँ । उहाँलाई कहिले भेट्नुहोला भन्ने त्यसै बेलादेखि लागेको थियो । ‘खिलबुट्टा’- को विमोचनलाई अवसर ठानेर पुगेँ । प्रत्यक्ष दर्शन भेट गरेँ ११ दिसम्बर २०२२ दार्जीलिङको गोर्खा दुःख निवारक सम्मेलनको सभागारमा । उहाँको निहुँमा अरू पनि धेरै ज्ञानगुणका धनी सज्जन र भद्रमहिलाहरूसित सत्सङ्ग गर्नसकेँ ।






