काठमाडौं,
पुस ७ ।
काडमाडौंमा हाइकु वाचन तथा विमर्श गरिएको छ । साहित्यिक पत्रकार संघद्वारा काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित हाइकु वाचन तथा विमर्श कार्यक्रममा वक्ताहरूले नेपाली भाषामा लेखिएका अधिकांश हाइकुमा बाह्य स्वरूपमा मात्र ध्यान दिइएकोले ती स्तरीय हुन नसकेको धारणा राखेका थिए । उनीहरूले हाइकु ५, ७ र ५ को तीन पङ्तिको संरचना मात्र नभएको बताउँदै चित्र, बिम्ब वा प्रतीकात्मकता हाइकुको महत्त्वपूर्ण विशेषता भएको पनि बताए ।
कार्यक्रममा हाइजिन तथा हाइकु अभियन्ता प्रा. रामकुमार पाँडेले हाइकुमा प्रकृतिका विभिन्न स्वरूप, दृश्य, भूगोल, वनस्पति, जीवजन्तुका रूपरङ र अवस्था कलापूर्ण र सौन्दर्ययुक्त भएर आउने बताउनुभयो । उहाँले ६ वटा ऋतु हुने र जैविक विविधताका कारणले पनि नेपाल हाइकु लेखनका लागि उपयुक्त स्थान भएको धारणा राख्नुभयो ।
अर्का हाइजिन तथा हाइकु अभियन्ता पुष्कर लोहनीले हाइकुसम्बन्धी अध्ययनमा जोड दिनुहुँदै ५, ७ र ५ अक्षरको संरचनालाई यथावत् राखी प्रकृतिपरक विम्बात्मक एवम् चित्रात्मक हाइकु लेखनमा जोड दिनुपर्ने बताए । प्रकृतिपरक बाहेकका ५, ७ र ५ अक्षरका तीन पंक्तिको रचना सेन्यू भएकोले त्यसलाई सेन्यू नै भन्नुपर्ने उहाँको धारणा थियो ।
साहित्यकार प्रमोद प्रधानले सपाट वर्णन र सजिलो लेखनका कारण अधिकांश नेपाली हाइकु स्तरीय हुन नसकेको उल्लेख गर्नुभयो । विधागत मान्यतालाई स्वीकार गरेर हाइकु लेख्नुपर्ने उहाँको भनाइ थियो ।
हाइजिन तथा हाइकुको प्रवर्द्धनमा लामो समयदेखि काम गर्दै आउनुभका साहित्यकार चेतनाथ धमलाले नेपालमा हाइकुको विकासबारे चर्चा गर्दै यसको प्रवर्द्धनका लागि सामूहिक प्रयासको खाँचो औंल्याउनुभयो ।
आयोजक संस्था साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले हाइकुलाई स्थापित गर्नका लागि लेख्नेहरूले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै त्यसैका लागि विमर्श कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत एवम् कवि भीम उदासले जापानी भाषा र नेपाली भाषामा रहेको विभिन्नताका कारण जापानी भाषामा जस्तै हाइकु नेपालीमा लेख्न गाह्रो हुने चर्चा गर्नुभयो ।
कार्यक्रममा जापानमा १५ वर्षभन्दा बढी समयदेखि बसिरहेकी डा. बुनु दाहालले जापानको खान्जी भाषा र हाम्रो भाषाबीच धेरै फरक रहेको हुनाले जापानी भाषामा जस्तै गरि नेपाली भाषामा हाइकु लेख्न गाह्रो हुने धारणा राख्नुभयो ।
कार्यक्रममा हाइजिनहरू पुष्कर लोहनी, रामकुमार पाँडे, भीम उदास, नरेन्द्रबहादुर श्रेष्ठ, दिव्य गिरी, राधेश्याम लेकाली, मोहनबहादुर कायस्थ, ललिता दोषी, मुरारी सिग्देल, चेतनाथ धमला, डा. बुनु दाहाल, वैरागी जेठा, निर्मलरमण पराजुली, नीता श्रेष्ठ नित्यनूर, विष्णु ओलीले आआफ्ना हाइकु वाचन गर्नुभएको थियो ।
नीता श्रेष्ठ नित्यनूरले सञ्चालन गरेको उक्त कार्यक्रममा दिव्य गिरीले स्वागत र मुरारी सिग्देलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रम साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको हो ।






