कविता कृति ‘आधा शिर उचालेर’को पोखरामा परिचर्चा

पोखरा,
मंसिर ११ ।

कवि ज्योति जङ्गल नवीनम् कविता कृति ‘आधा शिर उचालेर’माथि पोखरामा शनिबार परिचर्चा गरिएको छ । कविता क्लब नेपालको आयोजनामा भएको कार्यक्रममा कृतिको चर्चा गर्दै नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले ज्योतिले कवितामा जीवन र जगत् लेखेको बताउनुभयो । नारी जीवनका उतारचढावको कलात्मक चित्रण कृतिमा गरिएको बताउँदै डा. अधिकारीले समाजले नारीप्रति गरेको नकारात्मक व्यवहारप्रति शालीन विद्रोह कविताले गरेको जिकिर गर्नुभयो । ‘सरलता, सघनता र त्यसमा मिसिएर आउने भावनाको तीव्रता, शैली र शिल्पगत मौलिकता र अनुभूतिजन्य गहनता उनका कविताका प्राप्ति हुन्’ अधिकारीले भन्नुभयो, ‘आधा शिर उचालेर राम्रो कविता सञ्चयन हो ।’
अर्का समीक्षक र्‍याण्डम रिडर्स सोसाइटीका सदस्य नेपाल प्रकाश अधिकारीले ‘आधा शिर उचालेर’ कृति कविताको सुन्दर घर भएको धारणा राख्नुभयो । कविताको घरमा भएका अनेकौँ झ्याल, ढोकाहरूबाट फरक फरक दृश्य देख्न सकिने भन्दै अधिकारीले भन्नुभयो, ‘त्यही घर बनाउनका लागि कुर्बानी गरेका कैयौँ दिदी, बहिनी, भाउजू र आमाहरूको जीवनमा आएका अवरोधप्रति विद्रोहको प्रस्तुति कवितामा आएका छन् ।’

‘नारीप्रति परिवार र राज्यले गरेको विभेद कविताको मूल विषय हो भने विद्रोह यसको मूल स्वर हो’, समीक्षक अधिकारीले भन्नुभयो, ‘उहाँका थुप्रै कविता नारी मुक्तिको कामनासहित नारीकै पक्षबाट लेखिएका छन् तर संयमित भएर, उहाँका कवितामा उग्र नारीवाद भने छैन ।’ निजात्मक मौलिकता र भावगत तीक्ष्णता भेटिने यस कृतिले ज्योतिलाई विशिष्ट पहिचान दिने उहाँको ठम्याइ थियो ।

कविता क्लबका संस्थापक अध्यक्ष कवि रमेश श्रेष्ठले कवितालाई कविले जीवनलाई जत्तिकै माया गर्नुपर्नेमा जोड दिनुभयो । कविताले जीवन जिउन मात्रै होइन, कलात्मक मृत्यु मर्नसमेत सिकाउने उहाँको मत थियो । समकालीन पुस्ताकी सशक्त कविका रूपमा ज्योतिलाई आफूले चिनेको उहाँले बताउनुभयो ।

कवि ज्योति जङ्गलले कवितालाई समाजसँग जोडेर लेख्ने प्रयास गरेको अनुभव सुनाउनुभयो । उहाँले कवितालाई सस्तो सामान बन्नबाट जोगाउनका लागि आफू सधैँ प्रयत्नशील रहेको भन्दै समाजमा सबै वर्गका मानिसलाई पूरा शिर उचालेर बाँच्ने परिस्थितिको सिर्जना होस् भन्ने चाहना कवितामा प्रस्तुत गरेको सुनाउनुभयो । पोखरामा आफ्नो नयाँ कृतिको पहिलो परिचर्चा कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले प्राप्त सुझावहरूलाई आत्मसात् गरी आगामी दिनमा लेखन यात्रा अघि बढाउने धारणा राख्नुभयो ।

विराटनगरकी स्थायी वासिन्दा कवि जङ्गलको यसअघि ‘पहाडको मन’ र ‘मुक्त समय’ गरी दुई कविता सङ्ग्रह, ‘अक्षरमा तिमी’ गजल सङ्ग्रह तथा ‘छाया’ कथा सङ्ग्रह प्रकाशित छन् । साङ्ग्रिला बुक्सद्वारा प्रकाशित कृतिमा ४३ ओटा कविता सङ्गृहीत छन् । कविता क्लबका संस्थापक अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार रुपिन्द्र प्रभावीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार