काठमाडौं,
मंसिर १ ।
निर्वाचनको मिति नजिकिदै गर्दा यति वेला कलाकर्मीहरूले आ-आफ्नो समर्थन जनाई रहेका छन् । लामो समयदेखि नेपाली कला तथा सँस्कृतिको क्षेत्रमा आफ्नो योगदान पुर्याएका कलाकर्मीहरूले समेत निर्वाचनमा उम्मेदवारी दिएसँगै उनिहरूको पक्ष र विपक्षमा आ-आफ्ना राय तथा विचारहरू सामाजिक सञ्जालमार्फत पस्कन थालेका छन् । यसैबीच बरिष्ठ चलचित्र निर्देशक लेखक तथा कलाकार मोहन निरौलाले लामो समयदेखि नेपाली चलचित्र तथा कला सँस्कृतिका क्षेत्रमा सक्रिय रुपमा लागिरहनुभएकी लोकप्रिय अभिनेत्री तथा निर्मात्री रेखा थापा, अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ, अभिनेता तथा निर्माता रोज राणा र अभिनेत्री तथा गायिका कोमल वलीलाई आफ्नो समर्थन जनाउँदै विजयी गराउन अपिल गर्नुभएको छ ।
नेपाली चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री तथा निर्मात्री रेखा थापा मोरङबाट (प्रतिनिधि सभा), अभिनेता तथा निर्माता मधुकुमार श्रेष्ठ धादिङबाट (प्रदेश सभा) अभिनेता तथा निर्माता रोज राणा प्युठानबाट (प्रदेश सभा), अभिनेत्री तथा गायिका कोमल वली दाङबाट (प्रतिनिधि सभा) को उमेदवार रहनुभएको छ ।
अभिनेत्री थापाको निर्वाचनमा प्रचार प्रसार गर्ने शैली र स्वभावलाई मतदाताहरूले रुचाएका छन् र यति वेला मोरङ क्षेत्र नम्बर ३ का मतदाताहरू अभिनेत्री थापाको विजयको लागि उत्सुक रहेको बताउने गरेका छन् । परिवर्तन नेपालका अध्यक्षसमेत रहनुभएका निर्देशक निरौलाले कला क्षेत्रको प्रवद्धन र संरक्षणको लागि कलाकारहरूले राज्यको नियमनकारी निकाय सम्म पुग्न जरुरी रहेको र यसको लागि कलाकारहरूले जित्न जरुरी रहेको जिकिर गर्नुभयो ।
‘नेपालमा एकसय पच्चिस/छब्बिस भाषा भाषी तथा तिनीहरूको संस्कृति जीवन्त रहेको र त्यसलाई संरक्षण र सम्बर्द्धन सबैको दायित्व हो । जुनसुकै राजनितीक दल र स्थानको उमेदवारी भएपनि सामाजिक, राष्ट्रिय बिषयलगायत देशकै शिर उच्च पार्ने नेपालीहरूकोे बहु-पहिचान, कला संस्कृति भाषा र नेपाली चलचित्रको उम्मेदवारी दिएका कलाकर्मीहरू संवेदनशील रहेकोले पनि उनिहरूको जित आवश्यक छ’, निरौलाले भन्नुभयो ।






