गायक प्रमोद पाण्डेको निधन

काठमाडौं,
असोज २१ ।

गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आउनुभएका गायक पाण्डेको बिहीबार काठमाडौंमा निधन भएको हो ।

रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिनुभएको छ । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उहाँले गाएको ‘जिन्दगीले कहाँ ल्याइपुर्‍यायो’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर’ बोलको गीत र उहाँले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिंड्ने’ बोलको लोक गीत पनि चर्चित थिए।

उहाँले मधुमास बोलको एल्बम पनि निकाल्नुभएको थियो । उक्त एल्बममा समावेश अन्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो ?’ बोलको गीत स्रोताहरुले धेरै रुचाएको गीतमध्येमा पर्दछ । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार