काठमाडौं,
असोज १६ ।
नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको सातौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये सातौं रुप कालरात्रि देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक-फरक रूपहरूको पूजा गर्ने परम्परा रहेको छ । त्यसै अन्तर्गत आइतबार कालरात्रि माताको पूजा आराधना गरिदैछ ।
कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्नाले कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ ।
कालरात्रीको स्वरूप भयानक भए पानी अत्यन्त शुभ फल दिने देवी हुन् भनेर बताइएको छ । कालरात्रीको स्वरूपको प्रभावले सम्पूर्ण राक्षस, भूत, प्रेत, पिसाच तथा नकारात्मक उर्जा नाश हुने विश्वास लिइन्छ । आजको दिन विभिन्न स्थानहरूमा खसी, बोका, राँगो कुखुरा बलि दिने चलन पनि रहेको छ ।
नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आहृवान गरी पूजा गरिन्छ ।
उपत्यकामा मैतिदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायत प्रसिद्ध शक्तिपीठ छन् । यस्तै देशभरमा रहेका विभिन्न शक्तिपीठमा देवीको विशेष आराधना, पूजा गर्ने गरिन्छ । काभ्रेको नाला भगवती, काभ्रेकै पलाञ्चोक भगवती, नुवाकोटका जाल्पामाई र भैरवी, ताप्लेजुङको पाथीभरा, धरानको दन्तकाली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, बागलुङ कालिका, भोजपुरको सिद्धकाली, अर्घाखाँचीको अर्घा र खाँची, डडेल्धुराको उग्रतारालगायत मन्दिरमा विशेष पूजा(आराधना हुने गर्दछ ।
नवरात्रका अवसरमा शक्तिपीठमा पुगी पूजा–आराधनासहित देवीको दर्शन गरेमा मनोकांक्षा पूरा भई वर्षभरका लागि शक्ति प्राप्त हुने विश्वास गरिन्छ । यसै विश्वासका आधारमा देशभरका शक्तिपीठमा नवरात्रभर भक्तजनको भिड लाग्ने गर्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।






