कविता : अङ्गीकृत

✍️ चूडामणि देवकोटा
काठमाडौं,
भदौ २६ ।

बन्जर जमिन
आवाद गरेर
सुन्दर गाउँ बस्ती बसायौँ
परम्परा र संस्कृति सम्बर्द्धन गर्दै
स्वभिमानी देश निर्माण गर्यौँ
अनेक हमलावर धपाउँदै
मधेश र पहाडका
सीमा बचायौं
नेपाल बनायौं,
अब अहिले
देश चलाउन हाामी असक्षम ?,
सदियौंदेखि नेपाली धर्तीलाई
हराभरा पार्ने क्रममा
हामी मधेश पहाडका रैथानेले
अनेक व्यथा सह्यौं
सामन्त शासकहरूले
हाम्रा धेरै सन्तती शहीद बनाए
कति सीमापारीकाले मारे
कति सीमावारीकाले मारे
राणाले मार्‍यो, पञ्चायतले मार्‍यो
जनयुद्ध गर्नेले मार्‍यो
सहेकै छौं,
हाम्रा शाहीदका माग के थिए ?
भर्खरै नागरिक भएका
नयाँ नेपालीलाई
नेता बनाउनका लागि
शासन सत्ता दिनका लागि
कोही मरेका छैनन्
यही देशमा जन्मिएका हामी
आफैँ नेतृत्व गर्न सक्छौं
मधेशी मात्र हैन
किराँत मगर खस नेवार र ठकुरीसम्म
सबै शासन गर्नेहरू
भूमी पुत्र थिए
यही सरहदका जन्मजात थिए
यहीको जल वायुका उपज थिए
इतिहास साक्षी छ,
अङ्गीकृत थिएनन्,
देश चलाउनेको रगतमा
अलिकति माटोको सुगन्ध मिसिनुपर्छ
देश चलाउनेको हृदयमा
अलिकति देशभक्तिको बीउ उम्रिएको हुनुपर्छ
एक पुस्तालाई जन्मन दिनुपर्छ
पल्ला घरका नरे,
वल्ला घर सरे जस्तो होइन
देशको माटोमा खेल्न दिनुपर्छ,
भो,
अङ्गीकृतलाई
राजनीतिक अधिकार नदेऊ
अङ्गीकृतले देशलाई गुलाम बनाउन सक्छ
अबका अङ्गीकृतले त
देश टुक्र्याउन पनि सक्छ
नेता र मन्त्री बन्न पाइने लालसामा
अङ्गीकृतको बाढी आउन सक्छ ।
ज्ञानेश्वर, काठमाडौं ।

यसमा तपाइको मत

अन्य समाचार