काठमाडौं,
भदौ २३ ।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कारको आरोप लागेपछि क्यानले उहाँलाई निलम्बन गरेको हो । क्यानको कार्यसम्पादन समितिको बेठकले उहाँलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको क्यानका कार्यबहाक सचिव प्रशान्त विक्रम मल्ले जानकारी दिनुभयो ।
क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हो । विज्ञप्तिमा क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’
क्यानले गत वर्षको मंसिरमा सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । क्यानको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तानी दिएको थियो ।







