क्लब टेनएक्समा अनिललाई ‘वान्स मोर’

काठमाडौं
भदौ १२ ।

गीत सङ्गीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेषगरी पप गायनमा उहाँको नाम चर्चामा रहन्छ । झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उहाँले गाएका गीत सङ्गीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उहाँले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने सङ्गीतप्रेमी दर्शकनै छैनन् भन्दा पनि फरक पर्दैन । किनकि उहाँको गायन शैली र गीत नै त्यस्तै छ । सङ्गीत प्रेमीमार्फत रकस्टारको ट्याग पाउनुभएका अनिलको गीतमा रम्नेमा युवापुस्ता धेरैछन् ।

आफैँ गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिलले पछिल्लो समय गीतसङ्गीतमा सक्रियता बढाउँदैहुनुहुन्छ । केही अगाडी मात्र गीत ‘रेलिमोई’ सार्वजनिक गरेपछि उहाँ क्लब म्युजिकल टूरमा हुनुहुन्छ ।

अघिल्लो साता लन्डन पवमा आफ्नो प्रस्तुति दिनुभएएका अनिलले गएको शनिवार क्लब टेनएक्समा प्रस्तुति दिनुभयो । उहाँले म्युजिकल क्लब टुर अन्तर्गत कन्सर्ट गरिरहनुभएको छ । उहाँको म्युजिकल टुरमा ब्याण्ड पनि छ । ब्याण्ड ‘ग्रुभी सोल’ मा भोकलिस्ट अनिल हुनुहुन्छ भने किबोर्डमा सुनिल सिंह, लिड गीतारिस्टमा अनिश मानन्धर, बेस गीतारिस्टमा सन्दीप गुरुङ, ड्रमरमा प्रज्वल निर्वाण रहनु भएको छ ।

शनिवार भएको ‘क्लब टेन एक्स’ को कन्सर्टमा स्वदेशीसँगै विदेशी सङ्गीतप्रेमी पनि उपस्थित थिए । आइ लभ यु, प्रेम पत्र, डुब्न देऊ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सकेसँगै पछिल्लो गीत रेलिमोईसम्म उहाँले गाउनुभयो । उहाँको गीतमा उपस्थित सङ्गीत प्रेमी झुमेका थिए । कन्सर्ट झन्डै दुई घण्टा जति चलेको थियो । अनिलको हिट गीतहरू ‘वान्स मोर’ का कारण झन्डै दुई पटक गाउँन् बाध्य हुनुभएको थियो ।

‘दर्शकको मायाले उत्साहित छु । यो म्युजिकल टुरलाई अझै विभिन्न क्लब र स्थानमा लान्छु’, अनिलले भन्नुभयो । उहाँले यी सब योजना अनुसार नै अगाडी बढेको बताउनुभयो । ‘योजना अनुसारनै काम अगाडी बढाईरहेको छु । क्लबहरूमा म्युजिकल टुर पश्चात विदेशमा पनि गर्ने तयारी हुँदैछ’ अनिलले भन्नुभयो । केही समय कन्सर्टमा मात्र केन्द्रीत अनिलले पछिल्लो समय गीत सङ्गीत सिर्जनामा पनि उत्तिकै समय दिइरहनु भएको छ । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर, ट्रेन्ड बुझेर आउनुपर्छ’, अनिलले भन्नुभयो । उहाँले आफू गीत सङ्गीतसँगै अन्य विविध कामहरूमा रहेको पनि बताउनुभयो ।

आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उहाँले ‘म्युजिक स्टेट’ नामक च्यानल बनाउनु भएको छ । ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसङ्गीत लिएर आएको छैन । अब भने सक्रियता बढाउदैछु’ उहाँले भन्नुभयो । साथै, उहाँले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिटै दर्शक समक्ष ल्याउँदै हुनुहुन्छ । उहाँले आफ्नो हिट गीतहरूको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा सङ्ग्रहित गर्दैहुनुहुन्छ । यसपटक उहाँले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लाग्नुभएको हो ।

यसमा तपाइको मत

अन्य समाचार