ललितपुर,
भदौ ५ ।
ललितपुर महानगरपालिका-२५ मा ट्याक्सी ड्राइभरलाई प्राथमिक उपचारको तालिम दिइएको छ । ललितपुर महानगरपालिका र कमला क्राफ्टको प्रायोजनमा नेपाल एकीकृत ग्रामिण विकास केन्द्र ललितपुरको आयोजनामा एक दिने निःशुल्क प्राथमिक उपचार तालिम दिइएको हो ।
नेपाल निर्यात व्यवसायी महासंघका सचिव अमृत खड्काले सडक दुर्घटना भएपछि कसैको पनि अकालमा ज्यान जानबाट जोगाउनका लागि ट्याक्सी ड्राइभरलाई प्राथमिक उपचारको तालिम दिनु सह्रानीय काम भएको बताउनुभयो ।
उहाँले सबै स्थानीय तहले ट्याक्सी ड्राइभरलाई तालिम दिएर प्राथमिक उपचारबाट अकालमा ज्यान गुमाउनेलाई बचाउन सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘ट्याक्सी सबैको पाएकमा हुन्छ। यदि ट्याक्सी ड्राइभर प्राथमिक उपचारको तालिम प्राप्त भयौँ भने अस्पताल पुग्ने समयसम्म कसैको पनि ज्यान जोगिन सक्छ। त्यसैले यो कार्य सह्रानीय छ। सबैले यो काम गर्नुपर्छ।’
सडक दुर्घटनाबाट हुने अप्रिय घटना कम गर्नका लागि तालिम कोशेढुंगा सावित हुने केन्द्रका अध्यक्ष शैलेन्द्र विस्टले बताउनुभयो । अध्यक्ष बिस्टले अहिले स्थानीय ट्याक्सी ड्राइभरलाई मात्र तालिम दिइए पनि आउने दिनमा पुनः अभिमुखीकरण गर्दै जाने र अन्य पालिकाहरूले अपेक्षा राखेमा काम गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोतम आचार्य, ललितपुर महानरपालिका २५ का वडाध्यक्ष दौलतकुमार खत्रीलगायतले सडक सुरक्षामा यस्ता तालिमले एकएक इट्टा थपिने विश्वास लिएको बताउनुभयो । करिब २० जना ट्याक्सी ड्राइभरले प्राथमिक उपचारको तालिम लिएका छन् भने नेपाल रेडक्र सोसाईटीका राजेन्द्र श्रेष्ठ र मञ्जु पाण्डेले तालिम दिनुभएको थियो ।






