✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
भदौ ५ ।
नेपाली जनताको अबस्था दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । जनताको वास्ता कुनै दलले पनि गरेका छैनन् । जनतामा निराशा मात्र बढदै गएको छ । राजनीतिका नाममा कमाउनेले कमाइरहेका छन्, रमाउने रमाइरहेका छन् । ब्यवस्था परिवर्तन गर्न जनताको बलिदानीको कुनै कदर र सम्मान छैन । जुन सुकै राजनीतिक परिवर्तनमा राजनीतिक दलहरूलाई नेपाली जनताले पूर्णरूपमा साथ दिँदै आएका छन् । तर दलहरूले जनता माथि पटक पटक घात गदै आइरहेका छन् । यो भन्दा लाज लाग्ने कुरा अरु के हुन्छ ? हरेक राजनीतिक परिवर्तनमा जनताको साथ र सहभागीता रहदै आएको कुरा कसैले भुल्नु हुँदैन । नेपाली जनताले साथ र सहयोग नगरेको भए कुनै पनि राजनीतिक परिवर्तन सम्भव थिएन । यो कुरा सत्य हो । २००७ साल, २०४६ साल, २०६२र६३ को जनआन्दोलनमा जनताको सहभागीता रहयो । त्यही भएर परिवर्तन सम्भव भयो । यदि, नेपाली जनताले दल र तिनका नेतालाई पूर्ण सहयोग नगरेको भए यहाँ कुनै परिवर्तन हुँदैन्थ्यो ।
दलहरूले यो कुरा बुझन जरुरी छ । जनताको साथ पाएरै राजनीतिक ब्यवस्था परिवर्तन भएको हो । आज आएर शासक धेरै स्वार्थी, भ्रष्ट र अवसरवादी भएका छन् । ब्यवस्था परिवर्तनवाट जनताले के पाए ? जनताले प्रश्न गर्दै छन् । निष्ठाको राजनीति हराउदै गएको छ । राजनीतिक दल र तिनका नेताहरूलाई देश र आमजनताको कुनै वास्ता छैन । नेताहरूमा अकूत सम्पत्ति कमाउने र रातारात धनी हुने होडवाजी मात्र चलेको छ । यसरी हुँदैन भन्ने कुरा हो । अहिलेसम्म पनि जनताका समस्याप्रति कुनै दल संवेदनशील बन्न सकेनन् ।
उनीहरूलाई जनताका तमाम खाले समस्यासँग कुनै सरोकार छैन । दलहरू सत्तामा गएर जसरी हुन्छ लुटतन्त्र मच्चाउनेमा नै केन्द्रित छन् । आज महँगी दोब्बरले वृद्धि भएको छ, आर्थिक परिसूचक सबै नकारात्मक अवस्थामा छन् । विदेशी मुद्राको सञ्चिती सन्तोषजनक अवस्थामा छैन । वैदेशिक सहायता घट्दो छ । जताततै विकृति नै विकृति बढ्दो छ । जनतालाई सबैभन्दा बढी आवश्यक पर्ने स्वास्थ्य र शिक्षा विचौलियाको पूर्ण नियन्त्रणमा छ । अहिलेकै दलहरू फेरि पनि चुनाव जितेर शासन सत्तामा आए भने हाम्रो भबिश्य बर्वाद हुने निश्चित छ । त्यसैले जनता अब चनाखो र संवेदनशील बन्नु पर्ने देखिएको छ ।
राजनीतिका नाममा ठगी गरिरहेका जोसुकैलाई पनि अब जनताले एक-एक प्रश्न गर्नुपर्ने भएको छ । जनता अब पार्टीको पछि लाग्ने होइन, आफनो बिबेक प्रयोग गरेर राम्रा उम्मेदवार छान्न सक्नुपर्छ । नत्र, आगामी पाँच वर्ष निकै पछुताउनुपर्ने अवस्था आउन सक्छ । अहिलेका अधिकांश दल र नेता करिब करिब असफल भइसकेका छन् । गलत नेतालाई जनताले भोट दिएर कुनै हालतमा पनि जिताउनु हुँदैन । राजनीतिलाई पैसा कमाउने व्यवसाय बनाइएको छ । यो राम्रो सङ्केत होइन । अब दलहरू सच्चिन सकेनन भने चुनावमार्फत जनताले उनीहरूलाई पाखा लगाउनुपर्छ । अरु कुनै बिकल्प छैन । आम जनतामा राजनीति वितृष्णबीच हुन गइरहेको आगामी निर्वाचन कस्को पोल्टामा पर्ने हो भविष्यले नै निर्धारण गर्नेछ ।






