काठमाडौं,
भदौ ५ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षीय नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको हो ।
कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माद्वारा जारी शोक विज्ञप्ति अनुसार स्वर्गिय नेता गिरिको पार्थिव शरीर आज (आइतबार) विहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पतालको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
यसैगरी विहान ११ः३० देखि २ बजेसम्म कांग्रेस मुख्यालय वी.पी. स्मृति भवन सानेपामा श्रद्धाञ्जलीका लागि राखिने शोक विज्ञप्तिमा जनाइएको छ ।
तत् पश्चात आज स्वर्गिय गिरिको पार्थिव शरीर पशुपति आर्यघाटनमा अन्त्यष्टि गरिने सचेतक विश्वकर्माले जनाउनुभएको छ ।
शोक विज्ञप्तिमार्फत विश्वकर्माले केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै उहाँले यस दुःखको घडीमा शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्नुभएको छ ।
उहाँको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उहाँलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो ।
गिरि नेपाली कांग्रेसभित्रका बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्थ्यो । क्यान्सर र निमोनियाको जटिलताका कारण उहाँको निधन भएको हो ।






