काठमाडौं,
साउन ३१ ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशका अधिकांश भू-भागमा आंशिक बदली रहको जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाको सम्भावना रहेका पहाडी भू-भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।






