गायक शिव परियारद्वारा सात विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं,
साउन १० ।

गायक शिव परियारले सात विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । उहाँले सर्लाहीस्थित आफैँ अध्ययन गरेको विद्यालयका सात विद्यार्थीलाई ४९ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्नुभएको हो । उहाँले सर्लाहीको सरस्वति मावि हजरियाका विद्यार्थीका लागि प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आउनुभएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ११ मा अध्ययन गर्ने सात विद्यार्थीले यस वर्षको ‘गरिब तथा जेहेन्दार छात्रवृत्ति ०७९ प्राप्त गरेका छन् । सात विद्यार्थीलाई जनही सात हजार रुपैयाँका दरले ४९ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भरत महतोले बताउनुभयो ।

छात्रवृत्ति पाउनेमा सुशीलाकुमारी तत्मा, अरुण पासवान, समीक्षाकुमारी चौधरी, कुमार पुलामी मगर, शिवजी मुखिया विन, ललिताकुमारी साह र गान्धी महतो हुनुहुन्छ । उहाँहरूलाई वडाध्यक्ष पुष्कल राउतले छात्रवृत्ति हस्तान्तरण गर्नुभएको थियो । आर्थिक अभावमा शिक्षाको यात्रा नरोकियोस् भन्ने उद्देश्यले आफूले शिक्षा लिएको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको गायक परियारले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार