काठमाडौं,
असार २७ ।
चलचित्र ‘हेल्लो जिन्दगी’ले भारतको कोलकतामा हालै सम्पन्न रोयल सोसाइटी अफ टेलिभिजन एण्ड मोशन पिक्चर्स अवार्डमा ‘आउट स्ट्याण्डीङ्ग एचिभ्मेन्ट अवार्ड’ जितेको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत र बिक्रम डि. जोशीद्वारा निर्मित तथा अभिनीत यो चलचित्रले केही साता अघि सिक्किमको गान्तोकमा सम्पन्न १६ औं संस्करणको गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड जितेको थियो ।
भारत, युके, जापन, इजिप्ट, ताइवान, क्युवा, टर्की, इन्डोनेसिया, स्पेन, अष्ट्रेलिया, चीनलगायत थुप्रै देशका चलचित्रहरूले प्रतिस्पर्धा गरेको अवार्डमा आफू निर्देशीत ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म बिधाकम अवार्ड जितेको जानकारी निर्देशक बोहराले दिनुभएको छ । मासिक रुपमा आयोजना हुँदै आएको अवार्डमा ‘हेल्लो जिन्दगी’ जून महिनाको बिजेता भएको हो । मासिक बिजेता चलचित्रहरू स्वतः बार्षिक प्रतिस्पर्धामा छनौट हुने प्राबधान अवार्ड आयोजक संस्थाले गरेको छ ।
अभिनेता तथा निर्मात जोशीले आफ्नो चलचित्रले एकपछि अर्काे अन्तर्राष्ट्रिय अवार्ड जित्दा खुशी लागकोे प्रतिक्रिया दिनुभयो । उहाँले अवार्डले आफूलाई चलचित्र निर्माण र अभिनयमा अझ प्रेरित गरेको बताउनुभएको छ । निर्देशक बोहराले आफ्नो मिहीनेत, सोच र प्रस्तुतिले पुरस्कार पाउदा खुशी लागेको बताउनुभयो । हाल अमेरिका निवासी बोहरा केही समयमै स्वदेश आइ नयाँ चलचित्र निर्माण गर्ने तयारीमा हुनुहुन्छ ।
गत चैत १८ गते देशभर प्रदर्शन भएको यो चलचित्रमा बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, बिक्रान्त बस्नेत, विल्सन बिक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयम् प्रमुख भूमिकामा हुनुहुन्छ ।
युके तथा नेपालमा खिचिएको चलचित्रको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ रहनुभएको छ । निर्देशक बोहराकै कथा, पटकथा र गीत रहेको चलचित्रमा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको चलचित्रलाई नेपालमा आरआर फिल्मस्ले बितरण गरेको थियो ।






