फोनिज युके पत्रकारिता पुरस्कार प्रधान र सुब्बालाई

काठमाडौं,
असार २५ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता पुरस्कार पत्रकारद्वय टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधान र सुब्बालाई आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशी जनही २५ हजार रुपियाँ र ताम्रपत्र रहेको छ ।

फोनिज युकेले सञ्चार क्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका दुई जना पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्दैआएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिहरूको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरूले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरूलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।

पुरस्कार स्थापनाको उद्देश्यको बारेमा फोनिज युकेको पूर्व अध्यक्ष विश्वास दीप तिगेलाले समाज बदल्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारहरूलाई प्रोत्साहन गर्न साथै युकेमा रहदै आएका पत्रकार र नेपालमा रहदै आएका पत्रकारहरू बीच सम्बन्ध स्थापना गर्न पनि यो सम्मान तथा पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।

त्यस्तै, फोनिज युकेको सल्लाहकार नगेन्द्रराज नेम्बाङले फोनिज युकेकी अध्यक्ष गोमा रानामगर, संरक्षक तथा पूर्व सौजन्यकर्ता रिटायर्ड मेजर सोनाम छिरिङ शेर्पा लगायत सिंगो समितिको तर्फबाट शन्देश सुनाउनुभयो ।

पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामीलाई प्रदान गरिसकिएको छ ।

फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा आयोजित वितरण समारोह फोनिज केन्द्रीय समितिको कार्यालयको सभाकक्ष एवं तमु बौद्ध सेवा समितिको हल अनामनगरमा आयोजित कार्यक्रमलाई महासचिव मिलन लिम्बुले सञ्चालन गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार