नेतृत्व सवल नहुँदा बढ्दो जनआक्रोश

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
असार २० ।

अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकारले जनताको पिर मर्का बुझन सकेको छ की छैन भन्ने कुरा जनता आफैँले बुझेका छन् । जनताको पिर मर्का बुझन नसक्ने सरकारको के काम ? प्रश्न पटक पटक उठने गरेको छ । मूल्यवृद्धिले जनताको ढाँड सेकिएको छ । सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न सकस परिरहेको छ । समाजवादको कुरा मात्र गर्ने हो की काम पनि गर्ने हो ? गरिव र धनी बीचको खाडल झन पछि झन गहिरो बन्दै छ । कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रलगायतका दलहरू देश र जनताप्रति गम्भिर हुनुपर्ने हो की हैन ?

दलहरूको विचार र आदर्श व्यवहारमा लागु हुन नसक्नु दुखद पक्ष हो । राजनीतिक दल र तिनका नेताहरूले विचार र सिद्धान्तलाई आत्मसात् गर्न सकेनन् । आज अधिकांश नेपाली जनता रोग, भोक र शोकसँग जुध्नु परेको छ । यो बिषयमा राजनीतिक दल र तिनका नेताहरूलाई चिन्ता लाग्नु पर्ने होइनर ? राजनीतिक दल र तिनका नेताहरूको भ्रष्ट प्रवृत्ति, स्वार्थ, लोभ र अहंकारका कारण मुलुक बर्वादीतर्फ गइरहेको छ । जनताका समस्यालाई आत्मसात् गरेर सरकार अघि बढ्नु पर्दथ्यो । वर्तमान गठबन्धन सरकार जनताको पक्षमा त्यति गम्भिर भएर लागेको देखिएन । दलहरू भागबण्डामा रमाए । यो सरकारले आम नागरिकको हितमा काम गरेर देखाउनु पर्ने हो तर त्यस्तो देखिएन । सर्वसाधारण गरिब जनता दिनप्रतिदिन पीडित र मर्माहत बनिरहेका छन् । उनीहरूका लागि सरकार किन गम्भिर बन्न सकेन ?

सर्वसाधारण गरिब जनता बिहानदेखि रातिसम्म पसिना बगाउँदै काम गर्छन् तर पनि राम्रोसँग खान पाएका छैनन् । नेपालको शिक्षा अत्यन्तै महँगो भएकाले सर्वसाधारण गरिब जनताले आफ्ना बालबच्चालाई पढाउनै सकिरहेका छैनन् । यस्तो महंगो छ नेपालको शिक्षा । सर्वसाधारण गरिब जनताले आफ्ना बालबच्चालाई पढाउनै सक्ने अबस्था छैन । शिक्षा पूर्ण रूपमा व्यापारिकरण हुँदै गएको छ । राज्यले सरकारी विद्यालय सुधार गर्न सकिरहेको छैन । जनता महँगीले आक्रान्त बनेका छन् । किसानले मल पाएका छैनन् । विद्यार्थीले समयमा पुस्तक पाएका छैनन् । मजदुरले श्रमको उचित ज्याला पाएका छैनन् । गरिब जनताले राम्रो उपचार पाएका छैनन् । रोजगारीको अभावमा कैयौं सर्वसाधारण भौतारिनु परेको छ ।

सरकार यो बिषयमा बेखवर जस्तै छ । आमजनताका समस्या सरकारले बुझन सक्नुपर्छ । सर्वसाधारणको चुल्होलाई कसरी सहज बनाउने भन्ने कुरामा सरकारको ध्यान जानुपर्छ । अहिले पनि विकट गाउँबस्तीमा सिटोमल र जीवनजलसमेत नपाएर मानिस अकालमा मर्नुपर्ने दुःखद् अवस्था छ । विभिन्न प्रकारका रोगका कारण अस्पतालमा भर्ना भएका गरिब विपन्न पैसाको अभावमा अस्पतालकै बेडमा थलिएर मर्नसमेत विवश छन् । स्वास्थ्य अत्यन्तै महँगो हुन पुगेकाले सर्वसाधारण नागरिक प्रताडित छन् । अहिले विभिन्न बहाना बनाएर सरकारी निकायकै संरक्षणमा व्यापारीहरूले दैनिक उपभोग्य वस्तुमा अत्यधिक मूल्यवृद्धि गराइरहेका छन् । सरकारका सरोकारवाला निकायले प्रभावकारी अनुगमन गर्न सकेका छैनन् । अहिले देखिएका समस्या समाधान गर्न बर्तमान सरकार गम्भिर रुपमा अघि बढनुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार