काठमाडौं,
असार १९ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको जनाएको छ । महाशाखाका अनुसार आज विहान केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान मधेस प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्यतया मौसम सफा रहनेछ छ ।
आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ महाशाखाले जनाएको छ ।
यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
प्रदेश-१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






