‘दोख’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं,
असार १३ ।

असार २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको अनुप बराल निर्देशित चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीस्थित नेपाल फिल्म क्याम्पस (स्टुडियो थिएटर) मा आयोजित कार्यक्रमकाबीच तीन मिनेट २४ सेकेन्ड समयावधिको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रले माओवादी कालखण्डको परिवेश प्रस्तुत गरेको छ । यद्यपी, चलचित्रको कथा भने सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको झगडाको हो । चलचित्रमा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ । सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा प्रस्तुत अधिकांश कलाकारहरूलाई प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक अनुप बरालले २०७२ सालमा चलचित्रको छायाँकन शुरु गरिएपनि विविध कारणले प्रदर्शनमा ढिलाई भएको बताए । भूकम्प, नाकाबन्दी हुँदै कोरोना भाइरस र निर्धारित बजेट सकिएपछि रोकिएको चलचित्रको अन्ततः निर्माण सकेर अहिले भारी बिसाएको तर भारी गह्रौ नभएको बरालले बताए । ‘फिल्म हेर्दा तपाईले मिठोपन महशुस गर्नुहुनेछ भन्ने भन्न सक्छु । फिल्मको बारेमा मैले अरु धेरै बोल्नु भनेको अलि हतारो गर्नुजस्तो लाग्छ । धेरै कुराहरु फिल्मले नै बोल्नेछ’ बरालले भने । उनले फिल्म सामुदायिक वनलाई लिएर दुईवटा गाउँबीच भएको झगडाको अन्तरद्धन्द्धमा हुर्केको कथा रहेको बताए ।

बरालले अगाडि भने,- ‘यद्यपी, यसमा मल्टिपल चरित्रहरू छ । बहुचरित्रहरु भएको, एउटा ठूलो क्यानभास जस्तो, उपन्यासजस्तो मलाई लाग्छ ।’ अभिनेत्री दीया मास्केले ‘दोख’ र भदौंमा प्रदर्शनमा आउने अर्को फिल्म ‘प्रकाश’मा आफूले गरेका चरित्र दुवै अर्थपूर्ण रहेको बताइन् । उनले ‘दोख’मा आफूले निर्वाह गरेको चरित्र र चलचित्रलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरिन् ।

निर्माता सविन ज्ञवाली र चलचित्रमा फुटबल खेलको कोरियोग्राफी गरेका अमनप्रताप अधिकारीले समेत आ-आफ्नो धारणा राखेका थिए । राजन कठेतले लेखेको चलचित्रको निर्माता सविनसँगै मनोज अधिकारी हुन् । चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिन कवि विप्लव प्रतिक र कलाकार प्रकाश घिमिरे समेत पुगेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार