बेमौसमी बाजा

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
असार १० ।

मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चलेको छ । यो बास्तबिकता हो की हल्ला मात्र हो । पटक पटक मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चल्छ अनि बिस्तारै सेलाउ छ । नेकपा एकिकृत समाजवादी पार्टी मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा बढी जोड दिदै आएको छ । के मन्त्रिमण्डल हेरफेर गर्दैमा समस्या समाधान हुन्छ त ? आज देशमा थुप्रै समस्या तेर्सिएका छन् ।

जनता समस्यामा पिल्सिरहेका छन् । महंगीले सर्वसाधरण नागरिकको चुलो बोल्न छाडिसकेको छ । जनताका समस्यामा ध्यान दिन छोडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुराले दुनिया हाँस्न थालेको छ । किसानले मल पाउँन सकिरहेका छैनन् । बिद्यार्थीले किताव पाउन सकिरहेका छैनन् । देशमा सरकार छ की छैन भन्ने कुरा जनताले अनुभूति गर्नसमेत पाएका छैनन् । यस्तो बेलामा सरकार भएको अनुभूति जनतालाई दिलाउनुपर्छ । सरकार कहाँ छ ? मूल्य वृद्धिको बिरोधमा दिनौं सडकमा नारा जुलुश भइरहेका छन् । तर, सरकार कानमा तेल राखेर बसिरहेको बहाना गरिरहेको छ ।

सरकारमा बसेर अन्धो जस्तो हुनु हुदैन, सरकारले सबैतिर हेर्न र देख्न सक्नु पर्छ । मुलुकका तमाम समस्यालाई चटक्कै छाडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुरा राम्रो होइन । यो कुरामा जनताले पटक्कै मन लगाएका छैनन् । सत्ता स्वार्थको राजनीतिले मुलुकलाई निकास दिदैन । मन्त्रिमण्डल हेरफेर गर्नु भनेको सत्ता स्वार्थको राजनीति हो । यसो गर्नुभनेको जनता माथि बेइमान गर्नु हो । मन्त्रिमण्डल हेरफेर गरेर आलोपालो मन्त्री बन्ने र आफनो ब्यक्तिगत स्वार्थ पुरा गर्ने बाहेक अरु केही हुँदैन । मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा सत्तारुढ दल नेकपा एकिकृत समाजवादी पार्टीमा चर्को बिवाद चर्किएको छ । सत्तारुढ अरु पार्टीमा पनि त्यस्तै हुँदैछ ।

जनताले मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा त्यति चासो दिएका छैनन् । जनताले त बढेको महंगी घटाउन भनेका छन् । देशमा सुशासन कायम होस् भनेका छन् । सरकार देश र जनताप्रति त्यति गम्भिर भएको देखिएन । सरकारको वरीपरि घुम्ने आसेपासे बाहेक जनताले राम्रोसंग सास फेर्न पाएका छैनन् । जनताका समस्या दिन प्रतिदिन बढदै छन् । जनताका समस्या समाधान गर्न सरकार किन मौन छ ? सत्तारुढ दलहरू अब गम्भिर बन्नुपर्ने बेला भएको छ । सरकारमा बसेर मात्र हुन्छ की जनताका समस्या समाधान गरेर जाने ? सरकारप्रति जनताको आर्कोसको पारा तात्दै छ । अहिलेसम्म त जनता धैर्य गरेर बसेका छन् । धैर्यको पनि सीमा हुन्छ ।

जनताको धैर्यको सीमा भत्कीयो भने ठूलो समस्या निम्तने निश्चित छ । बेलैमा सरकारले विचार गरेन भने आफैँ पछुताउनु पर्नेहुन्छ । मन्त्रिमण्डल हेरफेर गर्न खोज्नु भनेको बेमौसमी बाजा बजाउनु सरह हो । मन्त्रिमण्डल हेरफेर गर्दा जनतालाई कुनै फाइदा छैन । राजनीतिक दलहरूले आफू खुशी मनपरी गरिरहेका छन् । जनताका आशा र अपेक्षा एकातिर छन् राजनीतिक दलहरू अर्कैतिर दौडिरहेका छन् । यो राम्रो कुरा होइन । अब पनि राजनीतिक दलहरूको चेत खुलेन भने कहिले खुल्छ ?

यसमा तपाइको मत

अन्य समाचार