काठमाडौं,
असार ९ ।
जल तथा मौसम विज्ञान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको जनाएको छ । महाशाखाले प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको उल्लेख गरेको छ ।
हाल देशको प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको जनाइएको छ ।
आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने र प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राति प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश-१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।






