दाङ,
जेठ २८ ।
चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ । संघले शनिबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी १४ औँ वार्षिक उत्सव मनाएको हो । संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा १४ औँ वार्षिकोत्सव कार्यक्रम भएको हो ।
सो अवसरमा नगरप्रमुख खड्काले चलचित्र क्षेत्रको उत्थान र प्रवद्र्धनका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । संघको १४ औँ वार्षिकोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले कोरोना महामारीपछि दाङमा बन्द रहेका फिल्महल सञ्चालनका लागि पालिकाले आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले तुलसीपुरलगायत दाङमा पर्यटन प्रर्वद्धनका लागि चलचित्रको छायाँकन जिल्लामा नै गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समीर बलामी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, पूर्व अध्यक्ष केएल पिडित, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी, प्रेस युनियन दाङ अध्यक्ष सन्तोष सुवेदी, स्वतन्त्र पत्रकार संघ नेपाल दाङका अध्यक्ष जीतसागर जीएम, मेट्रो कलेज तुलसीपुरका प्रमुख वसन्त आचार्य, गायक तथा सङ्गीतकार प्रकाश रेग्मी, गजल अभियान दाङ अध्यक्ष प्रवल विष्ट लगायतले नेपाली चलचित्रको विकास र प्रवद्र्धनमा पत्रकार तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
सात जना सम्मानित
चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले १४ औँ वार्षिकोत्सवको अवसरमा सात जना पत्रकारलाई सम्मान गरेको छ । संघले दुई जनालाई नगदसहित पुरस्कृत एवम् सम्मान गरेको छ भने पाँच जनालाई प्रमाणपत्रले सम्मान गरेको छ ।
वार्षिकोत्सव समारोहमा संघका दाङ शाखा उपाध्यक्ष सन्तोष केसीले स्थापना गरेको चमनबहादुर रंग पत्रकारिता पुरस्कार २०७९ बाट नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल र संघका संस्थाका उपाध्यक्ष चेतन रेग्मीले स्थापना गरेको भागवता वसन्त रङ्गपत्रकारिता पुरस्कार २०७९ बाट सेतोपाटीका सम्वाददाता नारायण खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
यस्तै संघको वार्षिकोत्सवको अवसरमा राष्ट्रिय रङ्गपत्रकारिता सम्मानबाट केन्द्रीय महासचिव समिर बलामी, राष्ट्रिय कलाकारिता सम्मानबाट नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा चलचित्र निर्माता, निर्देशक केएल पिडित सम्मानित हुनुभएको छ । यस्तै पत्रकारिता सम्मानबाट रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतम, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम र गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक शुलोचना गौतम सम्मानित हुनुभएको छ ।
संघका अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोष केसीले गर्नुभएको थियो ।






