काठमाडौं,
जेठ २१ ।
जल तथा मौसम विज्ञान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको उल्लेख गरेको छ ।
महाशाखाका अनुसार हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशको बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश-१, मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने तथा प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आजराति प्रदेश–१ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ का पहाडी भू-भागका थोरै स्थानमा र वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरको छ ।






