काठमाडौं,
जेठ १० ।
चलचित्र ‘प्रेमगीत ३’ दशैँमा प्रदर्शनमा आउने भएको छ । यसअघि पटकपटक प्रदर्शन मिति तोकिए पनि कोरोना कहरका कारण लामै समय हार्डडिक्समा बसेको यो चलचित्र अब भने आगामी दशैँको छेको पारेर प्रदर्शन हुनेभएको हो ।
निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै चलचित्रलाई घटस्थापनाको तीन दिनअगाडि अर्थात् असोज ७ गते प्रदर्शन गर्ने निर्णय गरेको हो । अहिलेसम्म यो मितिमा अन्य नेपाली चलचित्र प्रदर्शन हुने भनिएको छैन तर दशैँको छेको भन्दै परदेशी चलचित्रको सिक्वेल आउने भनिएको छ ।
चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि डब भइसकेको छ । भारतका सिनेमा हलहरूमा प्रदर्शन हुने निर्माण टिमले यसअघि नै जानकारी गराइसकेको छ । यस्तै तमिललगायत विभिन्न भाषामा पनि डब गरिने जनाएको थियो ।
चलचित्रका निर्माता तथा निर्देशक मध्येका एक सन्तोष सेनले चलचित्रको प्रमोशनका लागि विभिन्न माध्यम अपनाइरहनुभएको छ । विशेषगरी चलचित्रको मेकिङसँगै युवास्टार प्रदीप खड्काका कारण पनि चलचित्र हेर्न युवादर्शक अझ बढी आतुर रहेको बुझन् सकिन्छ ।
छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायत कलाकारको अभिनय छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रूपमा डेब्यू गर्दै हुनुहुन्छ ।






