काठमाडौं,
वैशाख १९ ।
खोटाङको बुइपा थातथलो भएका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाको वालिङ पुख्र्यौली घर भएकी साहित्यकार डा. रजनी ढकाल जसराज किराती प्रतिभा पुरस्कारद्वारा पुरस्कृत हुनुभएको छ । खोटाङको बुइपाका वरिष्ठ कवि जसराज किरातीको नाममा स्थापित संस्था जसराज किराती प्रतिभा प्रतिष्ठान, नेपाल/बेलायतले नेपाली सङ्गीतका विधामा उल्लेखनीय योगदान पुर्याएबापत २०७७ का लागि राई र कविता, निबन्ध तथा समालोचना आदिका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान दिएबापत २०७८ का लागि डा. ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले जनही ५० हजार राशि र सम्मानपत्रसहित राई र ढकाललाई पुरस्कृत गर्नुभयो । कोभिड महामारीका कारण दुई वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काइँलाले कवि किरातीले नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान गरेको बताउनुभयो । उहाँले पुरस्कृत प्रतिभाहरूका सिर्जनाले नेपाली सङ्गीत तथा साहित्य क्षेत्रलाई समृद्ध बनाउन सहयोग पुगेको विचार व्यक्त गर्नुभयो ।
उक्त अवसरमा जसराज किराती प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्ष राईले संस्थाको उद्देश्य र पुरस्कारका बारेमा प्रकाश पार्नुभयो भने प्रा.डा. रमेशप्रसाद भट्टराई, प्राज्ञ मञ्जुल, गीतकार टीका चाम्लिङ र कवि तथा निबन्धकार सुस्मिता नेपालले पुरस्कृत प्रतिभाहरूका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पुरस्कृत प्रतिभाद्वय राई र ढकालले पुरस्कृत हुँदाको अनुभूति व्यक्त गर्नुभएको थियो ।






