इमाडोलमा ‘आरयु क्रियशन’को शुभारम्भ

ललितपुर,
वैशाख १८ ।

‘आरयु क्रियशन’को शुभारम्भ गरिएको छ । ललितपुरको इमाडोलमा फेसन डिजाइनर उषा राईले ‘आरयु क्रियशन हाउस’ सञ्चालनमा ल्याउनुभएको हो । उक्त बुटिकको शनिबार अभिनेत्री तथा गायिका विष्णु चेम्जोङ, चर्चित गीतकार तथा मोडल दर्पण राई, कोरियोग्राफर विपना थापा र गायिका सुजिता योञ्जनले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

बुटिक उद्घाटनपछि अभिनेत्री विष्णुले आफू फेसनेवल नभएपनि बुटिकको सङ्ख्या थपिनु खुशीको कुरा भएको बताउनुभयो । ‘म खाशै फेसनमा ध्यान दिन्न, त्यसैले बुटिक पनि त्यति धाउँदिन’ विष्णुले भन्नुभयो, ‘तर, बजारमा फेसन हाउस र बुटिकहरू थपिनु खुशीको कुरा हो, जसले फेसन पारखीहरूको फेसनप्रतिको इच्छा र रुचीलाई पूरा गर्दै आएका छन् ।’ उहाँले पछिल्लो पुस्ताका युवा फेसन कन्सस भएकाले बुटिकको भविष्य राम्रो रहेको भन्दै फेसन डिजाइनर एवम् आरयु क्रियशन हाउस’की सञ्चालन उषा राईलाई शुभकामना दिनुभयो ।

यस्तै, गीतकार दर्पण राईले आफू फेसन कन्सेस भएर पनि पुरुषलाई भन्दा महिलाका लागि बुटिक आवश्यक रहेको बताउनुभयो । बुटिकको उद्घाटनपछि दर्पणले भन्नुभयो, ‘पुरुषलाई भन्दा महिलाका लागि बुटिक आवश्यक छ किनकि हामीलाई भन्दा महिलाहरूलाई राम्रो बन्नुपर्छ ।’
गीतकार दर्पणले आफूले बुटिकको लुगा लगाएपनि फेसनप्रति रुची भएकाले आफ्ना विवाहमा चाहिँ जसरी पनि आरयु क्रियसन हाउसकै लुगा लगाउने बाचा गर्नुभयो । म्युजिक भिडियो निर्देशकसमेत रहनुभएका ब्याचलर गीतकार दर्पणले भन्नुभयो, ‘मेरो विवाहमा चाहिँ आरयु क्रियसनकै ड्रेस लगाउने छु । यो मेरो बाचा नै भयो ।’

सहरमा मात्र नभएर गाउँघरमा समेत फेसनेवल युवाको सङ्ख्या बढिरहेकाले बुटिक अहिलेको राम्रो व्यवसायी भएको उहाँको भनाइ थियो । ‘अहिलेका युवा नयाँ नयाँ क्रियसनको पहिरन रुचाउँछन् । जुन बुटिकहरूले पूरा गर्दै आएका छन्’ उहाँले भन्नुभयो, ‘त्यसैले बुटिक खोल्नु राम्रो हो । सहरमा मात्र नभएर बुटिकहरू सोलुतिर पनि खोलिनुपर्छ ।’ आरयु क्रियसनकी सञ्चालक उषा सोलुकी भएकाले दर्पणले यस्तो सुझाव दिनुभएको हो ।

कार्यक्रममा ‘भ्वाइस अफ नेपाल’ रियालिटी शोमार्फत गायनमा उदाउनुभएकी सुजिताले उषा राईलाई शुभकामना दिँदै भन्नुभयो, ‘फेसनको बजार बढिरहेका बेला आरयु क्रियसन थपिएको छ । यो खुशीको कुरा हो । फेसन पारखीहरूको माग यो बुटिकले पूरा गर्न सकोस्, शुभकामना छ ।’

फेसन डिजाइनर उषाको राईको यो पहिलो अनुभव हो । यसअघि विभिन्न व्यवसायी गर्दै आउनुभएकी उषाले आईआईएफटीबाट फेसन डिजाइनरमा डिप्लोमा गरेपछि बुटिकमा हात हाल्नुभएको हो । उहाँले भन्नुभयो, ‘पहिलोपटक फेसन डिजाइनर सिकेर बुटिक खोलेकी हुँ । तर, नयाँ भए पनि ग्राहकको चाहना र डिमाण्डलाई पूरा गर्ने प्रयास गर्नेछु ।’

बजारमा चलिरहेको फेसन ट्रेण्डलाई आफूले पनि फलो गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सकेसम्म आफ्नै क्रियसन बेच्नेछु । त्यसबाहेक ग्राहकको चाहनाअनुसारको पहिरन तयार गर्नेछु ।’ उहाँले अन्य बुटिक तथा फेसन हाउसहरुभन्दा सुलभ र स्तरिय पहिरन उपलब्ध गराउन प्रयत्न गर्ने समेत बताउनुभयो । ‘थोरै मार्जिन राखेर ग्राहकलाई पहिरन उपलब्ध गराउने मेरो उद्देश्य हो’ उहाँले भन्नुभयो, ‘साथै, म्युजिक भिडियो, फोटोसुट र चलचित्रका लागिसमेत भाडामा लुगा उपलब्ध गराउने सोच बनाएकी छु ।’ कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशन तेन्जिङ शोर्पालगायत विभिन्न फेसन पारखीहरूको उपस्थिति थियो ।

यसमा तपाइको मत

अन्य समाचार