नयाँघरेकोे ‘याकजी’ विमोचित

काठमाडौं,
वैशाख १२ ।

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’निबन्ध संग्रहको विमोचन भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गर्नुभएको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ । विमोचनपछि नाटककार मल्लले भन्नुभयो- ‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृतिकला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।’

समालोचक महेश पौडेलले भन्नुभयो- ‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको छ । विवरण भन्दा अनुभूतिले भरिभराउ यो कृतियात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको छ ।’ उहाँले भन्नुभयो- ‘नयाँ घरेशैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं ।’

यस्तै नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले भन्नुभयो, ‘याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको छ । कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार हामी यहाँ भेट्न सक्छौँ । नयाँ घरेको मौलिक भाषिक प्रयोग र ठेट नेपाली पनलाई यहाँ पनि आत्मसात् गरिएको अनुभव गर्न सकिन्छ । डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँ घरे सफल छन् ।’

समालोचक तथा प्रा.डा. सिर्जनाशर्मा उप्रेतीले नयाँघरेको लेखनबाट आफू प्रभावित भएको र यात्रा साहित्यमार्फत् समाजलाई बुझ्न एवम् अनुभव गर्न ठूलो सहयोग पुग्ने धारणा राख्नु भयो । उहाँले भन्नुभयो- ‘याकजी पढ्नु भनेको हिमाली सभ्यता, संस्कृति र रहन सहन थाहा पाउनु हो । यो कृति आगामी दिनका लागि पनि भौगोलिक, सांस्कृतिक, प्राकृतिक एवम् धार्मिक चरित्रहरूको थप बिस्तार पूर्वक अध्ययन गर्नका लागि सघाउने कृति बन्न पुगेको छ ।’

याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै कर्णालीको विकट क्षेत्रको यात्राबाट आफूले जीवनकै गहिरो दर्शन प्राप्त गरेको धारणा प्रस्तुतगर्नुभयो । नयाँ घरेले भन्नुभयो- ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटता भित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरू घुम्नुपर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नुपर्छ ।’

नियात्राकार नयाँघरेका यो १८औं कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उहाँका आठौं नियात्राका कृतिहरू प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवम् पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार