कृसु र मनोजलाई व्यथित काव्य पुरस्कार

काठमाडौं,
वैशाख ६ ।

व्यथित काव्य वनिता पुरस्कार कवि कृसु क्षेत्री र मनोज न्यौपानेलाई दिने घोषणा गरिएको छ । विगत २४ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको वनिता साहित्यिक पत्रिकाले दिँदै आएको व्यथित काव्य वनिता पुरस्कार कविद्वयलाई दिने निर्णय सार्वजनिक भएको हो । कवि कृसु क्षेत्रीलाई २०७८ सालको र कवि मनोज न्यौपानेलाई २०७९ सालको पुरस्कार दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साहित्यिक क्षेत्रमा ‘विलयन लेखन’ नामक नवीन विचारको प्रवर्तन र काव्यमा त्यसको सफल प्रयोग गरी नेपाली साहित्यको श्रीवृद्धि गरेकोमा यो पुरस्कार दिने निर्णय गरिएको हो, विज्ञप्तिमा भनिएको छ । व्यथित काव्य वनिता पुरस्कारबाट विगतमा डा. विष्णुविभु घिमिरे, विश्वविमोहन श्रेष्ठ, भारती गौतम, उषा शेरचन, सुलोचना मानन्धर, नवराज सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, अनिल पौडेल लगायतका स्रष्टा सम्मानित हुनुभएको छ ।

मनोरञ्जन क्षेत्रमा अत्यन्त मिल्ने जोडी मह जस्तै नेपाली साहित्यका क्षेत्रमा अत्यन्तै मिल्ने मानिएका कृसु र मनोज (कृम जोडीको रूपमा चिनिने) यो जोडीलाई एकै समारोहमा एकै पुरस्कारबाट पुरस्कृत गरिनु संयोग मात्र भएको वनिता पत्रिकाका प्रकाशक तथा सम्पादक लक्ष्मी उप्रेती बताउनुभयो ।

कृसु क्षेत्रीका चार कविता कृति, एक गजल कृति र दर्जन जति सम्पादित कृति प्रकाशित छन् भने मनोज न्यौपानेका तीन कविता कृति, एक गजल कृति र आधा दर्जन सम्पादित कृति प्रकाशित छन् ।

हालै कृसु, मनोज र चेतनाथ धमलाको संयुक्त सम्पादनमा साझा प्रकाशनबाट प्रकाशित विलययन लेखन बजारमा आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार