✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
चैत २५ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै दलले आ-आफ्नो रणनिति तय गरिरहेका छन् । कसरी स्थानिय निर्वाचनमा सबैभन्दा बढी मत आफ्नो पक्षमा पार्ने भनेर दलहरु यति बेला कम्मर कसेर लागेका छन् । यस्तैमा नेपाली कांग्रसले औपचारिक रुपमै गठबन्धन सरकारमा सहभागी भएका दलहरु बीच चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ ।
चुनावमा कस्ता चुनावी एजेण्डा दिएर जनताको मत तान्न सकिन्छ भनेर सबै राजनीतिक दलहरू लागेकै छन्। जनताले चुनावी एजेण्डा होइन, परिणाम खोजिरहेका छन् । परिणाम निस्कनेगरी जनप्रतिनिधिहरूले काम नगरेको प्रति जनता निराश छन् । अब हामी नागरिक निराश भएर मात्र हुँदैन । अब कस्ता उम्मेदवारलाई भोट दिएर जिताउने भन्ने बिषयमा विचार पुर्याउनुपर्छ ।
राजनीतिक दलका नेताहरूलाई दोष दिएर मात्र हुँदैन, हामी पनि दोषि छौं । हामीले राम्रा मान्छे छान्न नसक्दा अहिले दुख्ख पाइरहेका छौं । अब पनि हामीले विचार गरिएन भने भोली फेरि पछुताउनुपर्ने अबस्था आउन सक्छ । त्यसैले आउँदो चुनावमा हामी सम्पूर्ण नागरिकहरूले आ-आफ्ना प्रतिनिधि छान्न दश पटक सोचेर मतदान गरौं । हाम्रा होइन राम्रा ब्यक्ति छानौं । पैसा र खानपानमा आफनो अमूल्य मत खेरा नफालौं । अब तपाईं हामीले सोच्नुपर्ने भएको छ ।
गरिबका छोरा छोरीहरू यो महङ्गो चुनावमा उठन आँट गर्ने अबस्था छैन । चुनाव महङ्गो भयो । आर्थिक अबस्था कमजोर हुने ब्यक्ति पछि हटेर पैसावालालाई ठाउँ छोडदिनुपर्ने यस्तो अबस्था छ । अब जनताले विचार पुर्याउनु पर्छ । खराव ब्यक्तिलाई चुनावमा हराउने वा जिताउने भन्ने जिम्मा जनताको हातमा छ । त्यसैले अबको चुनावमा बिगतमा जस्तो गल्ति तपाईं हामीहरूले दोहोराउने काम गर्नु हुँदैन । खराव आचरण भएकालाई हराउने र राम्रा ब्यक्हिरूलाई जिताउने तपाईं हाम्रो जिम्मामा छ । गाउँदेखि शहरसम्म यो जागरण अभियानको जरुरी छ । जनप्रतिनिधि भनेका जनताका सेवक हुन ।
जनताको सेवामा रात दिन खटने ब्यक्तिलाई छान्न सक्यौ भने सबैको हित हुन्छ । लामो समय सम्मको अभ्यासले धेरै कुरा सिकाएको छ । सबै कुरा अनुभवबाट सिक्ने हो । राजनीतिक दल र तिनका नेताहरूको पछि लागेर कार्यकर्ताहरुले के पाए ? अब समिक्षा गर्नुपर्छ । अब नेतालाई गाली गरेर मात्र समस्या समाधान हुँदैन अब हामी सबै सच्चिनुपर्छ । हामी नागरिक सच्चिन सके पनि समाज परिवर्तन हुनसक्छ ।
आज देश आर्थिक सङ्कटमा फस्दै छ । देशको आर्थिक अबस्था सुधार गर्न के-के गर्नुपर्छ भन्ने बिषयमा अर्थबिज्ञहरू छलफलमा जुटेको अबस्था छ । देशको बिकास र सुशासन आजको आबश्यकता हो । भ्रष्टचारले देश थिलथिलो छ । सबै तहका सरकार गम्भिर बन्नुपर्ने बेला आएको छ । अब देशलाई माथि उठाउन सक्ने इमान्दार नेताहरूको खाँचो छ । त्यस्ता नेता छान्ने काम तपाईं हाम्रो काम हो ।
अब चुनावमा जनताले फैसला गर्नुपर्छ । चुनावमा गठबन्धन दल र एमाले भिडने सङ्केत देखिएको छ । सबै राजनीतिक दलहरू चुनावी मैदानमा छन् । चुनावमा कसले जित्ने कसले हार्ने भन्ने त हुन्छ नै । लोकतन्त्रमा यो स्वभाविक प्रक्रिया हो । लोकतन्त्रमा प्रतिष्प्रर्धाको राजनीति हुन्छ । यो नै सुन्दर पक्ष हो । प्रतिष्प्रर्धामा राम्रा मान्छे आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । देशमा राम्रा मान्छे पनि छन् सबै गलत छैनन् । चुनावमा राम्रा मान्छे छान्ने काम सुरु गरौं । हाम्रा होइन, राम्रा मान्छे छान्न सकियो भने मात्र बिकास हुन्छ ।






