काठमाडौं,
चैत २१ ।
नेपालले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी)लाई ५० रनले हराउँदै नेपालले उपाधि चुमेको हो ।
पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउनुभयो । ३८ बलको सामना गर्नुभएका उहाँले पाँच चौकाको मद्दतमा ५४ रन जोडनुभयो । यस्तै करण केसीले विष्फोटक व्याटिङ गर्दै १२ बलमा ३३ रन बनाउँदा आशिफ शेखले २९, कुशल भुर्तेलले २५, र मोहम्मद आदिल आलमले १५ रन जोडनुभयो ।
बलिङतर्फ पीएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कबुआ मोरेअ र रिले हेकुरेले एक/एक विकेट लिनुभयो ।
१६९ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको पीएनजीले १६ ओभर दुई बलमा अलआउट हुँदै ११८ रन मात्रै बनाउन सक्यो। उसका लागि सेसे बाउले ५९ र चार्ल्स अमिनीले १५ रन जोडे पनि अन्य कुनै पनि व्याटरले दोहोरो अंकको रन जोड्न सक्नुभएन ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिनुभयो । यस्तै करन केसीले तीन र कप्तान सन्दीप लामिछाने दुई विकेट लिनुभयो ।
नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल पुगेको हो भने लिग चरणका चारमध्ये एक खेल मात्रै जितेको पीएनजीले नेट रनरेटमा मलेसियालाई पछि पार्दै फाइनल प्रवेश गरेको हो ।






