युवन्तिकालाई सगरमाथा आरोहणका लागि शुभकामना प्रदान

काठमाडौं,
चैत २१ ।

इलाम हङकङ समाजले थाहा पुस्तकालय, काठमाडौंमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लाग्नुभएकी युवन्तिका तामाङलाई शुभकामना प्रदान गरेको छ । संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सूर्योदय नगरपालिका-१० इलाम निवासी २८ बर्षीय तामाङलाई खादा लगाएर शुभकामना दिनुभएको हो ।

सो अवसरमा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले युवन्तिकाको परिचय राख्दै आरोहणको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा युवन्तिकाले आफ्नो आरोहणको यात्रा विषयमा प्रकाश पार्दै सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा युवन्तिकालाई इलाम हङकङ समाजका सल्लाहकार गणेश पराजुलीले समाजका तर्फबाट एक लाख बीस हजार नगद रुपैयाँ रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा कलाकारहरु दिनेश डीसी, लय सङ्ग्रौला, उत्तम केसी, तुलसी पराजुली, सरस्वती घिमिरे, पनाह अधिकारी र सुदिप शर्माले पनि आरोहणका लागि शुभकामना दिनुभएको थियो ।

सो अवसरमा शिव अधिकारी, कृष्ण काफ्ले, प्राज्ञ नन्दु उप्रेती, कलाकार विष्णु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सगरमाथा आरोहणका लागि अत्यन्त उत्साहित युवन्तिकाले सगरमाथाको लोबुचे पिकसम्मको ६११९ फिटसम्म उचाईको आरोहण गरिसक्नु भएको छ ।

इलाइट हिमालय एक्सपिड ट्रेडमार्फत आरोहण अध्ययन गरिरहेकी युवन्तिका सगरमाथा चढ्ने इलामकी प्रथम महिला आरोही हुनुहुने छ ।
बाइक राइडिङलगायतका साहसिक खेलमा रुची राख्ने युवन्तिकाको यो प्रयासले इलामको पर्यटनलाई अझ प्रचार गर्न थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार