काठमाडौं,
चैत ७ ।
सिने पत्रकार एवं लेखक जीवन पराजुलीको पुस्तक ‘क्लोज अप’ सार्वजनिक भएको छ । नेपाली सिने जगत र चलचित्र उद्योगलाई विकसित तुल्याउन लागि पर्ने ६१ पात्रका कथा र उनीहरूको योगदानलाई पुस्तकमा समेटिएको लेखक पराजुलीले बताउनुभयो ।
उहाँले पुस्तकमा नेपाली सिने क्षेत्रका विभिन्न कालखण्डका व्यक्तिहरूको बारेमा ५० वर्षे नेपाली सिनेमा क्षेत्रमा देखा परेका समस्या, सबल पक्ष र वर्तमान अवस्थालाई व्याख्यात्मक रूपमा विश्लेषण गर्नुभएको छ । लेखक पराजुलीले यो पुस्तकमा २०२६ सालदेखिको नेपाली चलचित्रको बारेमा विस्तृत रूपमा जानकारी मिल्ने बताउनुभयो । पुस्तकमा विशेष गरेर नेपाली सिने क्षेत्रका कलाकारहरूका चुनौती र सफलताको बारेमा पनि समावेश गरेको उहाँको भनाइ छ । लेखक पराजुलीले पुस्तकमा कलाकार राजेश हमालको चलचित्र क्षेत्रमा प्रवेश र योगदानका बारेमा पनि चर्चा गरेको बताउनुभयो ।
पुस्तकमा अझै केही सिने नगरीलाई महत्वपूर्ण योगदान दिने सिनेकर्मीहरूको बारेमा पर्याप्त तथ्य नहुँदा छुटेको पनि लेखक पराजुलीले बताउनुभयो । उहाँले आगामी संस्करणमा छुटेका ती सिनेपात्रलाई समावेश गर्दै भएका केही त्रुटि र गुनासाहरूलाई परिमार्ज गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।






