काठमाडौं,
चैत ५ ।
अमेरिका र नेपालमा छायाँकन गरिएको नेपाली चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति पोस्टपोन्ड गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको यो चलचित्र नेपालमा आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउने बताइएको छ ।
बुधबार चलचित्रको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो चलचित्र वैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । चलचित्रमा ब्यास बिस्सु, अकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।
सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्रमा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास तथा कविता श्रेष्ठ स्वर छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गर्नुभएको हो । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा हुनुहुन्छ ।
दीपक वली एसोसियट निर्देशक रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रदीप आचार्य र प्रदीप खत्री हुनुहुन्छ ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्ती अनुसार अमेरिका भन्दा पहिले नेपाल रिलिज लक्ष्य भएतापनि कोरोना महामारीका कारण ढिलो भएको उल्लेख गरिएको छ ।






