चुनाव केन्द्रित दलहरूका अभियान र आम जनमानसको अपेक्षा

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
चैत ४ ।

यतिबेला राजनीतिक दलहरू चुनाव केन्द्रित बन्दैछन् । देशका विभिन्न ठाउँहरूमा दलहरूले आ-आफना भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेकाछन् । यद्यपि, चुनावप्रति जनतामा त्यति उत्साह छाएको देखिँदैन । किनभने, विगतमा दलहरूले दिएका आश्वासन अझै पुरा हुन सकेका छैनन् । त्यसो भएकोले पनि जनता उत्साहित छैनन् ।

राजनीतिक दलहरू र तिनका नेताहरू जब चुनाव आउँछ, तबमात्र जनताको घर आँगनमा पुग्छन् । चुनाव सकिएपछि उनीहरू जनताको घरसम्म फर्केर पनि जाँदैनन् । स्थानीय निर्वाचनको समय नजिकिंदै छ । तरपनि अहिलेसम्म राजनीतिक दलहरूले आ–आफ्ना धारणा जनतासामु सार्वजनिक गर्न सकिरहेका छैनन् । अहिले दलहरूसँग फरक एजेन्डा नै छैनन् ।

चुनावी एजेन्डा खै ? घोषणापत्रमा के लेख्ने भन्ने कुरामा दलहरू अलमलिएका छन् । राम्रो नीति तथा कार्यक्रम नभएपछि जनताले हराउलान भन्ने चिन्ता सबै दलमा छ । तर, सबै दल जनतामा जाने भनेर भनिरहेका छन् । जनतालाई विश्वास दिलाउने भर पर्दो एजेन्डा अझैसम्म फेला पार्न सकिरहेका छैनन् ।

दलहरू अहिले जोडतोडका साथ चुनावी अभियानमा जुटेका छन् । अहिले स्थानीय क्षेत्रमा चुनावी चहलपहल बढन थालेको छ । आ-आफ्नो पक्षमा चुनावी माहोल सिर्जना गर्न दलका नेताहरूको दौडधुप बढिरहेको छ । राजनीतिक दलका नेताहरू अहिले घोषणापत्रबिना नै चुनावी सभा आयोजना गर्न पुगिरहेका छन् । विचार र योजनाबिना जनताबीच गएर मात्र हुँदैन । जनताले नेताहरूलाई धेरै प्रश्न सोध्नेवाला छन् ।

जनताको जवाफ दिने आँट गरेर मात्र नेताहरू गाउँ पस, होइन भने समस्या पर्न सक्छ । राजनीतिक दलहरू विचारविहीन् देखिएका छन् यतिवेला । विगतका आश्वासन पुरा नहुँदा जनताले नेताको खुलेर आलोचना गर्न थालिसकेका छन् । यो स्वभाविक पनि हो । नेताहरूमा चेत पलाउन सकेन ।

दलका नेता एक-अर्कालाई गालीगलौज गर्ने, हिलो छ्याप्ने र उछित्तो काढ्ने काममा लागिरहेका छन् । राजनीतिक पार्टीहरू जनताप्रति इमान्दार बन्न नसक्दा जनतामा निराशा छ । संविधानमा समाजवादी यात्रामा देशअघि बढ्ने भनिएको छ । तर, अहिलेसम्म यो यात्रामा अघि बढने कुनै सुरसार छैन् । कुरा मात्र गरेर हिंड्ने हो की काम पनि गर्ने हो ?

राजनीतिक दलले समाजवाद निर्माणको दिशामा अघि बढ्ने त कुरा गरिरहेका छन् । खै त्यसका लागि चाहिने आधार निर्माण गरेको ? समाजवाद निर्माणका आधार, त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम खै ? नेपाली जनताले विकास निर्माणका खाका खोजिरहेका छन् । देशमा संघीयतासहितको गणतन्त्र त आयो, तर त्यो जनतालाई आयो की नेतालाई ? यस्ता प्रश्न उठिरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार