पोखरा,
चैत २ ।
कास्कीको पोखरा महानगरपालिकासँगै जोडिएको प्राकृतिक रुपमा अति रमणीय रूपा गाउँपालिकाको परिचयात्मक गीत सार्वजनिक भएको छ । यही फागुन २७ गते पालिकाको ५ औं स्थापना दिवशको अवसर पारेर भव्य समारोहका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
रूपामै जन्मिएका लोकप्रिय कलाकार माओत्से गरुङ र ओमप्रकाश गुरुङसहित रोहन आसिव, ममता अधिकारी र प्रियङ्का सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको भिडियोमा सर्जक प्रकाश सुवेदीको रचनात्मक निर्देशन, कुमार केसीको नृत्य निर्देशन, निसल पौडेल र पदमराज सुवेदीको छायाँकन, निशान घिमिरेको सम्पादन र महेन्द्र सुवेदीको भाषानुवादको भूमिका रहेको छ ।
यस भन्दा अगाडि नै दक्षिणकाली नगरपालिका र पनौती नगरपालिकाको परिचयात्मक गीत बनाएर प्रसिद्धि कमाईसकेका गीतकार प्रकाश सुवेदीको गहन अध्ययन र अनुसन्धानमा पालिकाभित्रका सात वटै वडाहरूमा रहेका विविधतालाई सात मिनेट १८ सेकेण्ड भित्र समेटेर लेखिएको गीतमा लोकप्रिय सङ्गीतकार वसन्त सापकोटाको सङ्गीत, साहश शाक्यको सङ्गीत संयोजन र सिडी विजय अधिकारी, मेलिना राई, शिरीष देवकोटा, आरसी रिमाल र सङ्गीतकार स्वयम् वसन्त सापकोटाको स्वर रहेको छ गीतमा । गीतमा आञ्चलिकता र स्थानीय संस्कृृति झल्काउन बीचबीचमा कास्कीको सेरोफेरोमा प्रचलित भजन र सोरठीको भाकासमेत राखिएको छ।
पालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रसाशकीय अधिकृत सन्तोष ढुङ्गानासहित सम्पूर्ण जनप्रतिनीधि र कर्मचारीसमेत संलग्न रहेको गीति भिडियोमा शिक्षकहरू र स्थानीयलाई समेत समेटिएको छ ।
कास्कीका आठ ओटा ताल मध्ये तेस्रो ठूलो ताल रूपातालको नामबाट नामाकरण गरिएको रूपा गाउँपालिकाको गीतको अवधारणा पालिका अध्यक्ष स्वयम् नवराज ओझाले तयार पार्नुभएको हो ।






