काठमाडौं,
फागुन २४ ।
आज ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ । सन् १९११ देखि यो दिवस मनाउन थालिएको हो ।
यो वर्ष नेपालमा ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारी र गैरसरकारी तवरबाट विभन्न कार्यक्रमको आयोजना गरिएको छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । राजनीतिक तवरबाट सुरु भएको भए तापनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानतालगायत सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो । संयुक्त राज्य अमेरिकाको सोसलिष्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोसलिष्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेबु्रअरी १९०९ का दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो ।
१९१० मा सोसलिष्ट इन्टरनेसनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दिवसको मान्यता दियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे । यो हड्ताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो । अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो । हरेक वर्ष यस दिनलाई महिला दिवसको रूपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरूको अवस्थामा खासै परिवर्तन हुन सकेको छैन ।






