रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको उद्धारमा एनआरएनए

काठमाडौं,
फागुन १७ ।

युक्रेन द्वन्द्व प्रभावित दुई सय ४४ जना नेपाली सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्यान्डमा ६०, स्लोभाकियामा १२, हंगेरीमा चार, रोमानियामा १२ र माल्डावामा दुईजना सकुशल पुगेका हुन् । त्यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जानेक्रममा पोल्यान्डको सीमामा एक सय ३०, स्लोभाकियाको सीमामा १२, रोमानियाको सीमामा १० र माल्डावाको सीमामा दुईजना नेपाली दोस्रो मुलुक जान रोकिएको समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युक्रेनका अनुसार युक्रेनभित्र ४० परिवार स्थायीरूपमा बसोबास गर्दै आएका छन् भने केही नेपाली पर्ख र हेरको अवस्थामा युक्रेनका विभिन्न शहरमा अझै बसोबास गर्दै आएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अध्यक्ष एवं जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले युद्धका कारणले विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।

एनआरएनएका प्रेस संयोजक चिरन शर्माका अनुसार राजदूत खड्काले युक्रेनबाट विस्थापित ३४ जना नेपालीलाई दूतावासले यात्रा अनुमतिपत्र जारी गरेको जानकारी दिनुभएको छ । समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले एनआरएनए अध्यक्ष कुमार पन्त नेपालीको उद्धारका लागि पोल्यान्डको सीमाक्षेत्रमा आफैँ परिचालित हुनुभएको जानकारी दिनुभएको छ । बैठकमा एनआरएनए चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, एनआरएनए जर्मनीका अध्यक्ष मिलन पन्त, हंग्रेरीका गोपाल राई, सोनाम शेर्पा, स्लोभाकियाका सञ्जय कार्कीलगायतको उपस्थिति रहेको थियो ।

समितिले सीमाक्षेत्रमा थप स्वयंसेवक परिचालन गर्ने, नेपाल फर्किन चाहनेलाई हवाई टिकटका लागि समन्वय गर्ने, सीमाक्षेत्रमा आएका नेपालीलाई खानबस्न व्यवस्था गर्ने, कानुनी परामर्शका लागि एनआरएनए राष्ट्रिय समिति परिचालन गर्ने, उद्धारका लागि स्थानीयरूपमा संयन्त्र गठन गर्ने, स्वयंसेवकका लागि आवश्यक परिचयपत्र प्रदान गर्ने, आर्थिक संकलनलगायतका गतिविधिलाई अघि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार