काठमाडौं,
फागुन १३ ।
तीन वर्षअघि नै निर्माण भएर बसेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजबाट प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित यो चलचित्र कोरोना महामारीभन्दा अघि नै निर्माण भएको हो ।
दुई वर्षअघि नै प्रदर्शन हुनुपर्ने यो चलचित्रलाई कोरोनाले नराम्रोसँग असर पार्यो । प्रदर्शन मिति तोक्दै सार्दै गर्नुपरेको अवस्था धेरैपटक आयो । अन्ततः फागुन १३ गतेबाट प्रदर्शन गर्ने निर्णय गरेसँगै आजबाट देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार राति प्रिमियर शो को आयोजना गरिएको थियो ।
बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा दुई घण्टा १६ मिनेट लामो उक्त चलचित्र हेरेपछि निर्माण टिमको तारिफ गरिएको थियो । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, गणेश गिरीलगायत कलाकारको मुख्य अभिनय छ ।
चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन छ ।






