यस वर्षको महाशिवरात्रिमा १० लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान

काठमाडौं
फागुन ११ ।

यस वर्षको महाशिवरात्रिमा करिब १० लाखले पशुपतिनाथमा दर्शन गर्ने अनुमान गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा करिब १० लाखले पशुपति दर्शन गर्ने अनुमान रहेको जनाएको हो । महाशिवरात्रि पर्व २०७८ को तयारीका विषयमा पशुपति क्षेत्र विकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले महाशिवरात्रिमा करिब सवा करोड खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

महाशिवरात्रिमा सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुने उहाँले जानकारी दिनुभयो । ‘यस वर्षको महाशिवरात्रिमा करिब १० लाखले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सवा करोड खर्च लाग्ने अनुमान छ । सुरक्षा व्यवस्थाका लागि १० हजार सुरक्षाकर्मी तैनाथ हुनेछन् ।’

उहाँका अनुसार महाशिवरात्रिमा गाँजालगायत लागूपदार्थलाई विशेष कडाइ गरिनेछ । महाशिवरात्रि पर्वका दिन मदिरामुक्त क्षेत्र बनाउनका लागि विशेष निगरानी र कडाइ गरिने पनि उहाँले बताउनुभयो । महाशिवरात्रिमा नेपालका विभिन्न क्षेत्रसहित छिमेकी मुलुक भारतबाटसमेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।

यस वर्षको महाशिवरात्रि पर्व फागुन १७ गते मंगलबार परेको छ । महाशिवरात्रि हिन्दूको एक विशेष पर्व हो । हिन्दू क्यालेण्डरअनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्रि मनाइन्छ । शिवरात्रिमा श्रद्धालुहरू रातभर जागा रहेर भगवान् शिवको आराधना गर्छन् भने भजन कीर्तनसमेत गर्छन् । महिलाका लागि शिवरात्रिको विशेष महत्व छ ।

अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगलकामना गर्छन् । धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान् शंकर ब्रह्माबाट रुद्रको रूपमा अवतरण हुनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार