काठमाडौं,
फागुन १० ।
आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर तीन बलमा सबै विकेट गुमाएर १०७ रनमै समेटिएपछि ६८ रनले पराजित भएको हो ।
पराजित भएसँगै नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना अधुरो भएको छ । यसअघि नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
युएईका अहमद राजाले पाँच, जुनैद सिद्दीकीले तीन तथा रोहन मुस्तफा र जहुर खानले एक विकेट लिनुभयो ।
त्यसअघि, ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको थियो ।
उसका लागि मोहम्मद वसीमले सर्वाधिक ७० रन जोड्दा, भ्रित्य अरविन्दले ४६, मोहम्मद उस्मानले १७, जवार फरिदले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सक्नुभएन ।
नेपालका जितेन्द्र मुखिया र अभिनाश बोहराले तीन/तीन तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिनुभयो ।
जितसँगै युएईले १६ अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप खेल्नेछ ।






