थप ७४७ जनामा कोरोना संक्रमण, आठको मृत्यु

काठमाडौं,
फागुन २ ।

सोमबार थप ७४७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २७९ नमुनाको पिसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ११ हजार २१८ पुगेको छ ।

यस्तै सोमबार १० वर्ष मुनिका १७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो समय देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् । जसमध्ये १९ हजार ९३० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ८०९ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये १७८ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

सोमबार दुई हजार ३१९ जन संक्रमणमुक्त भएका छन् । योसँगै नौ लाख ४० हजार ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार