काठमाडौं,
फागुन २ ।
जनसांस्कृतिक महासंघ नेपालको आयोजनाा ‘नेपाली साहित्यमा जनयुद्धको प्रभाव’ विषयक विचार गोष्ठीको आयोजना गरिएको छ । २७औँ जनयुद्ध दिवसको अअवसर पारेर महासंघले कोटेश्वरस्थित नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा सह.प्रा.डा. मधुसूदन गिरीले कार्यपत्र प्रस्तुत गरे । उनले नेपाली साहित्यमा जनयुद्धले पारेको प्रभावका विषयमा चर्चा गर्दै ०५२ सालपछि कोण प्रतिकोण जताबाट लेखे पनि जनयुद्धलाई चर्चा गरिएको बताए । उनले गोपालप्रसाद रिमालले ‘आमाको सपना’ मा लेखेजस्तै जनयुद्धले नेपालका हिमाल, पहाड तराई, गाउँसहर सबै ठाउँमा बस्ने सबै विचारका, सबै वर्ग, सबै तह र तप्का, जनजाति, लिंग, क्षेत्र, भाषा, संस्कृतिमा प्रत्यक्ष प्रभाव पारेको जिकिर गरे ।
डा. गिरीले लेखक, कलाकार, संस्कृतिकर्मी लगायतका क्षेत्रमा जनयुद्धले सशक्त प्रभाव पारेको विचार व्यक्त गरे । उनले भने, ‘नेपाली समाजको सामाजिक अवस्था संरचना एवं त्यसमा देखिने विविध प्रकारका द्वन्द्व, संघर्ष र परिवर्तनको ऐनाका रुपमा रहेको नेपाली साहित्य र साहित्यकार यसको प्रभावबाट अछुतो रहनु असम्भव नै थियो र छ पनि ।’
डा. गिरीले जनयुद्धको दश वर्षका बीचमा लेखिएका रचनाले वर्गसंघर्ष र चेतनाको दियोलाई मलजल गरेको सुनाउँर्दै ०६२/६३ पछि पनि जनयुद्ध र यसले निर्माण गरेको नयाँ परिवेशका बारेमा साहित्य रचना हुँदै आएको बताए । उनले समाजको पिँधमा रहेका मानिसलाई यसले जगाउने काम गरेको बताउँदै साहित्यमा तिनका विषय घनिभूत रुपमा उठान भएको विचार राखे । उनले भने, ‘एकातिर जनयुद्धको सम्पूर्ण शोषित, उत्पीडित, दलित, सीमान्तकृतहरुको मुक्तिका निमित्त सर्वहारा वर्गको राज्य सत्ता प्राप्तिका लागि हत्केलामा प्राण र शिरमा कफन बाँधेर बहादुरीपूर्वक लडेको जनयुद्धका उज्याला पक्षलाई उजागर गर्दै अर्थात् प्रस्तुत जनयुद्धलाई माक्र्सवादी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणबाट हेर्दै एक अपरिहार्य आवश्यकताका रुपमा लिने पक्ष र अर्कोतर्फ सामन्त, पुँजीवादी एवं साम्राज्यवादका पक्षधर र कतिपय मध्यमवर्गीय अवसरवादीका आँखीझ्यालबाट हेरेर यसका उपलब्धिलाई समेत नकारात्मक दृष्टिले नै हेरी नकारात्मक आलोचना गर्ने प्रवृत्ति पनि देखिन्छ ।’
डा. गिरीले एकथरीले यसका उपलब्धिलाई खुइल्याउने र अर्कोले जनयुद्धका उज्याला पक्ष र प्राप्तिलाई उजागर गर्दै यसविरुद्धको प्रतिक्रियावादी लेखनको प्रतिवाद गर्ने सांस्कृतिक द्वन्द्वको स्थिति जनयुद्ध र त्यसपछिको नेपाली साहित्यको यथार्थ भएको विचार व्यक्त गरे ।
डा. राजेन्द्रप्रसाद अधिकारीले कार्यपत्रमाथि टिप्पणी गर्दै निकै मिहिनेतपूर्वक लेखिएको बताए । उनले जनयुद्ध र त्यससँग सम्बन्धित विषयलाई साहित्यमार्फत उठान गरेको सन्दर्भलाई कार्यपत्रले सम्बोधन गरेको सुनाए । डा. अधिकारीले जनयुद्ध र त्यसले उठाएका विषयलाई अझ गहन ढंगले अन्वेषण हुनुपर्नेमा जोड दिँदै यसको सैद्धान्तिकरण गर्न सके नेपाली साहित्य समृद्ध बन्ने विचार व्यक्त गरे । अर्का टिप्पणीकार प्रा.डा. ताराकान्त पाण्डेयले जनयुद्धका आदर्श स्खलित भएको अवस्था साहित्यमा समेत आएको बताए । उनले कार्यपत्र बिहंगम तबरबाट आएको बताउँदै छुटेका विषयलाई थप्नुपर्नेमा जोड दिए । प्रा.डा. पाण्डेयले कविता, कथा, उपन्यास, निबन्ध तथा संस्मरणमार्फत लेखिएको जनयुद्धको साहित्यलाई अझ व्यापक बनाउन सबैले योगदान दिनुपर्ने धारणा राखे । उनले भने, ‘नेपालको प्रगतिवादी साहित्यिक धारालाई जनयुद्धले निकै प्रभाव पारेको छ । यसैको जगमा लेखिएको साहित्यले नेपालको सांस्कृतिक रुपान्तरणमा विशिष्ट भूमिका खेल्न सकेको छ ।’
कार्यपत्रमाथि डा. बालाकृष्ण अधिकारीले सुझाव राख्दै जनयुद्धको दर्शनलाई गहन ढंगले व्याख्या गर्नुपर्नेमा जोड दिए । उनले नेपाली समाजलाई नयाँ परिवेशमा लैजाने विशिष्ट आन्दोलनको रुपमा जनयुद्ध आएकाले यसको यथोचित व्याख्या र सौन्दर्यकरणी हुनुपर्ने बताए । कार्यक्रममा बुद्धिजीवी संगठनका उपाध्यक्ष निलकण्ठ तिवारीले जनयुद्ध र यसले विकास गरेको रुपान्तरणको विषयलाई साहित्यले सशक्त रुपमा उठाएको बताए । उनले यसलाई अझ गतिशील र प्रभावकारी बनाउन सबै स्रष्टाले मिहिनेत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कला, साहित्य तथा संस्कृतिका क्षेत्रबाट नयाँ तरिका र सिर्जनात्मक हस्तक्षेप दिन जरुरी छ । यसो हुन सकेमा मात्रै समाज रुपान्तरणका लागि बल पुग्छ ।’
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता हितमान शाक्यले महासंघले गहन र महत्वको विषयको चर्चा गरेको बातए । उनले जनयुद्धमा साहित्य, कला तथा संगीतले विशिष्ट प्रभाव पारेको जिकिर गरे । उनले भने, ‘कला तथा साहित्यले जनयुद्धको प्रभावलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रभाव पार्न सफल भएको छ । साथै दर्शन, विचार, राजनीति आदिमा समेत विशिष्ट प्रभाव पारेको छ ।’ शाक्यले कला, साहित्य तथा संस्कृतिमार्फत जनयुद्धको उपलब्धि र आदर्शलाई जोगाउनुपर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय उपाध्यक्ष केशव सिलवालले जनयुद्धले समाज रुपान्तरणमा विशिष्ट प्रभाव पारेको र त्यसको जगमा लेखिएको साहित्यले नेपाली समाजमा रहेको विभेदलाई हटाउन भूमिका खेलेको बताए । उनले कला साहित्यमार्फत स्रष्टाले समाजको पिँधमा बस्न बाध्य नागरिकको आवाजलाई सशक्त रुपमा उठाउनुपर्ने विचार व्यक्त गरे । महासंघका कोषाध्यक्ष विमला केसीले समाजलाई नयाँ दिशा र गति जनयुद्धको राप र तापले दिएको जिकिर गरिन् । उनले नयाँ समाज निर्माणका निम्ति जनयुद्धले प्रभावकारी भूमिका खेलेको बताइन् ।
सो अवसरमा लेखक दुर्गा नारायण ढकालद्वारा लिखित ‘संक्षिप्त ऐतिहासिक दर्पण’ पुस्तक सार्वजनिक गरियो । नेकपा (माओवादी केन्द्र) का नेता हितमान शाक्यले पुस्तक विमोचन गर्दै समाज रुपान्तरणमा साहित्यको भूमिका विशेष रहने बताए । उक्त पुस्तकमाथि अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष तथा साहित्यकार डा.धनप्रसाद सुवेदीले टिप्पणी गर्दै ऐतिहासिक तथ्यलाई लेखकले समेटेको बताए । उनले पुस्तकमा पूर्वीय र पाश्चात्य जगतमा विकास भएका परिघटनालाई समावेश गर्दै द्वन्द्ववादी ढंगले लेखिएको विचार व्यक्त गरे । सुवेदीले लेखकले पुस्तकमार्फत इतिहासलाई फरक ढंगले चित्रण गर्ने कोशिस गरेको सुनाए । लेखक ढकालले पुस्तकमा समग्र इतिहास, मानव उत्पत्ति र विकास शासक र शासितहरुको विवेचना गर्ने कोशिस गरेको बताए ।
उनले भने, ‘पुस्तकमा मानव विकास, राज्यको उत्पत्तिदेखि जनयुद्धसम्मका ऐतिहासिक परिघटनालाई केलाउने प्रयत्न गरेको छु ।’ ढकालले पुस्तकले नेपालको ऐतिहासिक पक्षलाई बुझ्न सघाउने अपेक्षा राखेको बताए ।
कार्यक्रममा जनवादी गायक केशर कालिकोटे र धनु ज्ञाङ्मी मगरले गीत प्रस्तुत गरेका थिए । यस्तै, कवि प्रथा, बलराम तिमल्सिना, सुधा मैनाली, मातृहाङ नेम्बाङ, सीता शर्मा, बाबा बस्नेतले कविता वाचन गरेका थिए ।
कार्यक्रममा जनसांस्कृतिक महासंघका अध्यक्ष मातृका पोखरेलले नेपाली साहित्यमा जनयुद्धको प्रभाव गहन ढंगले परेको बताए । उनले समाज रुपान्तरणमा साहित्यको भूमिका विशेष रहने बताउँदै जनयुद्ध र त्यसपछि लेखिएका रचनामा यसको प्रभाव परेको धारणा व्यक्त गरे । पोखरेलले भने, ‘नेपाली साहित्यमा जनयुद्धको प्रभाव कुनै न कुनै रुपमा परिरहेको छ ।’ उनले जनयुद्धको जगमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक तथा संघीय संरचनामा देश पुग्न सकेको जनाउँदै अबको साहित्यमा यसका उपलब्धि र गर्न बाँकी कार्यहरु तथा उद्देश्यलाई सशक्त रुपमा उठाउनुपर्नेमा जोड दिए । अध्यक्ष पोखरेलले नेपालको समाजवादी आन्दोलनलाई धारिलो ढंगले अगाडि बढाउन सशक्त रचनाको आवश्यकता रहेको र त्यसमा स्रष्टाले विशिष्ट भूमिका खेल्नुपर्ने बताए ।






